डोटीका १० वडा कार्यालय स्वास्थ्य संस्थाबिहीन
जनस्वास्थ्य सरोकार, धनगढी । डोटीका विभिन्न स्थानीय तह अन्तर्गतका १० वडा कार्यालय स्वास्थ्य संस्थाबिहीन रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार नेपाल सरकारबाट स्वीकृत मापदण्ड बमोजिम जिल्लाका नौ स्थानीय तहका कूल ६५ वडामध्ये ५५ वडामा मात्रै मापदण्ड पुगेका स्वास्थ्य संस्था रहेका र पाँच स्थानीय तहका १० वडा कार्यालय स्वास्थ्य संस्थाविहीन रहेका स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिए । उनका अनुसार ती १० वडामा सामुदायिक स्वास्थ्य एकाई, सहरी स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र भएपनि मापदण्ड पूरा भएका आधारभूत स्वास्थ्य केन्द्र नरहेकाले स्वास्थ्य कार्यालयको रेकर्डमा १० वडा स्वास्थ्य संस्थाविहीन रहेका छन् । स्वास्थ्य संस्थाविहीन वडामा बडिकेदार गाउँपालिकाको वडा नं २, दिपायल सिलगढी नगरपालिकाको वडा नं ३, ४ र ७, आदर्श गाउँपालिकाको वडा नं ३, सायल गाउँपालिकाको वडा नं २, ५ र ६ तथा शिखर नगरपालिकाको वडा नं ३ र ८ रहेका स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत एवं सूचना अधिकारी महेश बोहराले जानकारी दिए । ती वडामा तत्काल स्वास्थ्य संस्था स्थापना गर्न स्वास्थ्य कार्यालयले सम्बन्धित स्थानीय तहसँग सिफारिस माग गरेको भएपनि हालसम्म कुनै ठाउँबाट पनि सिफारिस आइनसकेको र सिफारिस आएमा मन्त्रालयमा विवरण पेश गरी चालु आर्थिक वर्षभित्रै स्वास्थ्य संस्था स्थापनाका लागि पहल चालिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसैबीच जिल्लाका विभिन्न स्थानीय तहले ३१ स्वास्थ्य संस्थाको स्थापना गरेका छन् । स्वास्थ्य कार्यालयका अनुसार सात स्थानीय तहले सामुदायिक स्वास्थ्य एकाई, नगर स्वास्थ्य केन्द्र र सहरी स्वास्थ्य केन्द्रका रूपमा ३१ स्वास्थ्य संस्था स्थापना गरेका छन् । तीमध्ये बडीकेदार गाउँपालिकाले पाँच, दिपायल सिलगढी नगरपालिकाले चार, आदर्श गाउँपालिकाले छ, सायल गाउँपालिकाले दुई, शिखर नगरपालिकाले तीन, जोरायल गाउँपालिकाले छ र बोगटान फुड्सिल गाउँपालिकाले पाँच स्वास्थ्य संस्था स्थापना गरेका छन् । ती स्थानीय तहहरुले आफ्नै लगानीमा व्यवस्थापन गर्ने गरी स्वास्थ्य संस्था स्थापना गरी सेवा दिन सुरु गरेका छन् ।