Logo
|
Friday 29th March 2024
Logo

epaper

मधुमेह र उच्चरक्तचापः हृदयघातको ४ गुणा खतरा

सन्दर्भः विश्व मधुमेह दिवस



 

डा. प्रिया दर्शनी योञ्जन, कन्सल्टेन्ट इन्डोक्राइनोलोजिस्ट/काठमाडौँ डाइबिडिज एण्ड थाइराइड सेन्टर

डा. प्रिया दर्शनी योञ्जन कन्सल्टेन्ट तथा वरिष्ठ इन्डोक्राइनोलोजिस्ट हुनुहुन्छ । उहाँ काठमाडौँ डाइबिडिज एण्ड थाइराइड सेन्टरमा बिगत तिन (२०७२ साउन) वर्ष देखि कार्यरत हुनुहुन्छ । उहाँले हरेक दिन ओपिडिमा २० देखि ४० जना सम्म बिरामी हेर्दै आइरहनुभएको छ ।

मधुमेहको बिरामीको अवस्था कस्तो छ ?

पहिलाको तुलनामा अहिले मानिस आफ्नो स्वास्थ्य प्रति बढि चेतनशिल भएका छन । सुगर जाँच गर्न भनेर बिरामी अस्पताल आइरहेका छन् । यहाँ सबै ठाँउबाट बिरामी आउँछन् । कुनै बिरामीहरु सामान्य स्वास्थ्य जाँच गर्दा सुगर देखिएकाले आउँछन भने कोही सामान्य लक्षणले गर्दा शंका लागेर आउँछन । यहाँ रिफरल घटनाका बिरामीहरु आइरहेका छन् ।

मधुमेह के हो ?

यो निको नहुने दीर्घ रोग हो । सुगर (मधुमेह) को मात्रा बढि हुनु मात्र रोग होइन । सुगर भइसकेपछि बिरामीको समयमा उपचार भएन भने आयु घट्न सक्छ । उमेर बढ्दै गएपछि मधुमेह हुने सम्भावना बढ्दै जान्छ । तर यो मधुमेह जुनसुकै उमेरको मानिसलाई लाग्न सक्छ । १०–११ वर्षको बच्चालाई टाइप वान र टु दुबै खालको मधुमेह देखिन सक्छ ।

के मधुमेहका बिरामीले जीवनभर औषधिखाइरहनुपर्छ ?

मधुमेह दीर्घ रोग भएकाले बिरामीले जीवनभर औषधि खाइरहनुपर्छ । मधुमेह नयाँ हो वा पुरानो ? औषधि कति पटक खाएमा नियन्त्रण भइरहेको छ ? जस्ता अवस्था हेरेर औषधिको डोज मिलाएर दिइन्छ ।

परिवारको सदस्यलाई मधुमेह भएमा अन्य सदस्यलाई हुनसक्ने संभावना हुन्छ कि हुँदैन ?

परिवारमा आमालाई मधुमेह भएमा बच्चालाई पनि हुने सम्भावना करिब ३० प्रतिशत हुन्छ । बुबा र आमा दुबैलाई मधुमेह भएमा बच्चालाई मधुमेह हुने खतरा ५० प्रतिशत हुन्छ । यसका साथै अस्वस्थ्यकर जीवशैलीबाट पनि मधुमेह हुने खतरा बढी हुन्छ ।

औषधि सेवन गरिरकेकाहरुले बीचमा औषधि छोड्न मिल्छ कि मिल्दैन ?

बिरामीलाई दीर्घ रोग लागेपछि तनाव त अवश्य हुन्छ । नियमित स्वास्थ्य जाँच गर्नुपर्ने भएकाले पैसा पनि खर्च हुन्छ । यस्तो अवस्थामा राम्रो उपचार पाउन हरेकले मानसिक रुपमा तनावमुक्त हुनुपर्छ । बीचमा औषधि छोड्न मिल्दैन ।

मधुमेह पहिचान भएपछि कति खर्च आउँछ ?

सस्तोमा प्रति ट्याब्लेट १ देखि २ रुपियाँ सम्म पर्ने औषधि पनि छ भने महँगोमा प्रति ट्याब्लेट ३० देखि ९० रुपैयाँ सम्मको मूल्य पर्छ । महँगो औषधिले राम्रो काम गर्ने सस्तोले कम काम गर्ने भन्ने हँुदैन । बिरामीको आन्तरिक स्वास्थ्यको स्थिति हेरेर औषधि दिइन्छ । बिरामीको शरीरमा औषधिले गर्ने साइडइफेन्टलाई मध्यनजर गरेर औषधि मिलाइन्छ । नेपालमा महँगोमा प्रति ट्याब्लेट ३० रुपियाँसम्म प्रयोगमा आएको छ ।

मधुमेहमा प्रयोग गरिने औषधिको के कस्ता साइड इफेक्ट देखिन्छ ?

मधुमेहका लागि प्रयोग गरिने सबैखालका औषधि सुरक्षित छन् । क्लिनिक ट्रयल गरेपछि मात्र औषधिहरु बजारमा आउने भएकाले औषधिका जटिल साइडइफेक्ट केहि पनि छैन् । प्राय सबै औषधिका सामान्य साइडइफेक्ट हुन्छ । मेटफर्मिन समूहका औषधिले ग्याँष्ट्रिक बढ्ने, पातलो दिसा जाने, पेट फुल्ने जस्ता समस्या देखिनसक्छ ।

मधुमेहका भएको कसरी पहिचान गर्न सकिन्छ ?

मुख सुक्ने, तिर्खा लाग्ने, भोक बढि लाग्ने, खुट्टा झमझमाउने, पोल्ने, घाउ छिटो निको नहुने, तौल घट्दै जाने मधुमेहका लक्षणहरु हुन् । करिब ५० प्रतिशत मानिसलाई लक्षण नै देखिँदैन । त्यसकारण ३० वर्ष कटेपछि वर्षमा एक पटक सुगर जाँच गर्नुपर्छ । परिवारमा कसैलाई मधुमेह भएमा २५ वर्ष उमेर कटेपछि जाँच गराउन जरुरी छ । धेरै व्यायाम गर्न फुर्सद नभएका, उच्चरक्तचाप, कोलेस्टेरोले भएका व्यक्तिहरुले बेलाबेलामा सुगर जाँच गराइरहनुपर्छ । बाल्यावस्थामा पोषणयुक्त खानाको कमीले पनि ठूलो भएपछि मधुमेह हुनसक्छ । शरीरमा पोषण कम हुँदा इन्सुलिन बनाउने कोषिको विकास राम्रो सँग नहुने भएकाले बच्चाहरुलाई मधुमेह हुने खतरा बढि हुन्छ ।

मधुमेह र उच्चरक्तचापले हुनसक्ने खतरा के हो ?

मधुमेह र उच्चरक्तचापको रिक्स फ्याक्टर कमन छ । त्यसकारण यि दुबै समस्या सँगसँगै देखिन सक्छ । मधुमेह र उच्चरक्तचाप भइसकेपछि बिरामीलाई हृदयघात हुने खतरा ४ गुणा बढि हुन्छ । त्यसकारण मधुमेह भएका हरेक व्यक्तिको रक्तचाप जाँच गर्न जरुरी हुन्छ ।

अन्तिममा यहाँको के सुझाब छ ?

अहिले मधुमेह हरेक परिवारमा भएको र परिवारको एक सदस्यलाई भएमा अन्य सदस्यलाई पनि हुने सम्भावना बढि भएकाले खानपान र जीवनशैली स्वस्थ्य हुन जरुरी हुन्छ । घरमा बनाएका खाना खाने, फास्टफुड खाना नखाने, मिठाइलगायतका खुलिया खाने कुरा सेवन नगर्ने, आत्मविश्वास बढाउने कोशिस गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्