Logo
|
Monday 28th October 2024
Logo

epaper

उदयपुर अस्पतालमा ३ डाक्टर थपिए, बन्द सेवा सूचारु



  जनस्वास्थ्य सरोकार, उदयपुर । सदरमुकाम गाईघाटस्थित ५० शैय्याको उदयपुर जिल्ला अस्पतालमा वर्षदिनयता रोकिएको जटिल प्रकारका गर्भवतीको शल्यक्रियाको उपचार सिजरिएन सेक्सन (सिएस) सेवा सुचारु भएको छ।

दक्ष जनशक्तिको अभावमा ०७५ मंसिरदेखि रोकिएको सिएस सेवा स्त्रीरोग विशेषज्ञ डाक्टर (गाईनोलोजिस्ट) को आगमनसँगै सुचारु भएको हो। अस्पतालमा सोमबारदेखि सिएस सेवा सुचारु भएको अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका जिल्ला समन्वय समिति प्रमुख खड्ग परियारले बताए। उनका अनुसार गतसाता स्त्रीरोगसम्बन्धी डा. अमरेसकुमार मण्डलको आगमन भएपछि सिएस सेवा सुचारु भएको छ।

आइतबार विहान अस्पताल विकास समितिको बैठक बसी ओटी (अपरेसन थिएटर) समूहको टुंगो लगाउँदै सिएस सेवा सुचारु गर्ने निर्णय भएको प्रमुख परियारले बताए। सेवा सुरु भएसँगै जिल्ला अस्पतालजस्तो सम्बेदनसिल स्वास्थ्य संस्थामै दरबन्दी अनुसार दक्ष डा. उपलब्ध नहुँदा जिल्लाबासी महँगो शूल्क तिरेर निजी स्वास्थ्यसंस्थामा उपचार गराउनुपर्ने बाध्यता अब हटेको छ।

वर्षदिनदेखि गाईनोलोजिस्ट डा. अभावमा वर्षदिनदेखि सिएस रोकिँदा सर्वसाधारणलाई गाईघाटकै नीजि अस्पताल र विराटनगर, धरान र जनकपुर तथा काठमाडौंसम्म पुगेर महँगो शूल्कमा सुत्केरी गराउनुपर्ने बाध्यता थियो। तत्कालीन गाईनो तथा अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. पवनकुमार साहको गत मंसिरमा कटारी अस्पताल सरुवा भएसँगै उदयपुर अस्पतालमा सिएस रोकिएको हो। आफुभन्दा माथिल्लो तहका डा. सरुवा भएर आएपछि १० औं तहका साह आफै सरुवा मागेर गएका थिए। उनी गएपछि कटारीमा पनि सिएस सेवा सुरु भइसकेको छ।

अस्पतालका तत्कालीन मेसु डा. विष्णु बस्नेतसँग क्षमता नभएको र दक्ष डा. हरु उनको मातहत बस्नेगरी आउन नमानेका कारण सुविधासम्पन्न भवन र भौतिक पूर्वाधार र उपकरणयुक्त जिल्ला अस्पताल ‘रेफर सेन्टर’ मा परिणत भएको थियो। अस्पताललाई सुधार गर्न अस्पताल विकास समितिले मन्त्रालय र प्रदेश सरकारसँग आग्रह गरेर आवश्यक डा. थपेपछि बल्ल सिएस सुचारु भएको अध्यक्ष परियारले बताए। उनका अनुसार कात्तिक दोस्रो साता ३ जना दक्ष डा. हरु अस्पतालमा सरुवा लिएर आएको र अव सबैखाले उपचार सेवा जनताले पाउनेछन्।

परियारका अनुसार नयाँ सरुवा आएका एमडिजिपी डा. अमरेसले सिएस टोलीको नेतृत्व गर्नेछन्। छवित्रा राईलगायत तालिमप्राप्त र ३÷४ अनुभवी नर्सहरु भने अस्पतालमा तैनाथ रहेकाले गाईनो डा. को अभावले मात्र रोकिएको सिएस सेवा सुचारु भएकाले यसबाट जिल्लाबासीले राम्रो सेवा पाउने उनले बताए। डा. महतोसँगै मेडिकल अधिकृतहरु डा. जीवनारायणा मण्डल, डा. चन्दन गुप्ता र डा. राकेश गिरी पनि ल्याइएका छन्। मेडिकल अधिकृतहरु डा. अरुण मण्डल र डा. विजय मेहता यसअघि नै कार्यरत रहेकाले अव अस्पताललाई जनमैत्री बनाउन सहज हुने अस्पतालका प्रशासन प्रमुख बृखबहादुर खत्रीले बताए।

भुक्तभोगी स्थानीयका अनुसार निजी अस्पतालले एउटा सिएस गरेबापत २५ देखि ४० हजारसम्म शूल्क लिने गरेका छन्। तर, सरकारी अस्पतालमा सिएस गराएवापत उल्टै सरकारले अस्पताललाई ७ हजार ५ सय रुपैंया सहयोग दिने खत्रीले बताए। जसमध्ये २ हजार सुत्केरी महिलालाई दिएर बाँकी रकम अस्पताल विकास कोषमा जम्मा गरिन्छ। सरकारी अस्पतालले सुत्केरीलाई आवश्यक सम्पूर्ण औषधि र सुत्केरी सामाग्रीसमेत निशूल्क गर्भवती महिलालाई दिने गरेको छ। उता

निजी अस्पतालले औषधि र सामग्रीको थप शूल्क पनि लिने गर्छन्। उदयपुर अस्पताललाई ५ वर्षअघि ५० श्यैयामा स्तरोन्नति गरिए पनि दरवन्दी अनुसार डा. अभावमा जिल्लाबासीले नियमित पाउनुपर्ने स्वास्थ्य सुविधा पाईरहेका छैनन्। सबभन्दा बढी जटिल खालका गर्भवतीको सुत्केरी गराउने सेवा नै महत्वपूर्ण रहेको अस्पतालमा पटक पटक सिएस सुचारु हुँदै रोकिदै गरेको छ। ५ वर्षअघि डा. चुमनलाल दास मेसु हुँदा सुरु भएको सिएस सेवा उनको सरुवासँगै रोकिएको थियो। ६ महिनापछि डा. फनिन्द्र बराल आएपछि सुचारु भएको सेवा उनको सरुवासँगै पुनः रोकिएको थियो। वर्षदिनपछि डा. पवन साहको सरुवासँगै सुरु सिएस पुनः उनको सरुवापछि रोकिएको वर्षदिनपछि अहिले सुचारु हुन लागेको अस्पतालका निमित्त मेसु डा. विजय मेहताले बताए।

प्रतिक्रिया दिनुहोस्