मुलुकमा ५४ हजार ८२६ कोभिड १९ परीक्षण, ५४ संक्रमितमध्ये १६ जना निको भएर घर फर्के
उपचाररत ३९ जनाको अवस्था सामान्य
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा हालसम्म ५४ हजार ८२६ वटा कोभिड १९ कोरोना भाइरसको नमुना परीक्षण गर्दा ५४ जनामा कोरोना संक्रमण भेटिएको छ । जसमध्ये १० हजार ८०७ वटा पिसिआर र ४४ हजार १९ र्यापिड डायग्नोष्टिक (आरडिटी) विधिबाट परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, गत २४ घण्टामा १ हजार १ सय ९३ वटा वटा थप परीक्षण भएका छन् ।
आज मात्र रौतहका २४ वर्षीय र ३५ वर्षीया २ पुरुषहरुको स्वाव परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गर्दा रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु भारतबाट नेपाल आएका र क्वारेन्टाइनमा बसेका थिए । यसरी मुलुकमा कुल कोभिड १९ कोरोना भाइरस संक्रमितको संख्या ५४ पुगेको छ । जसमध्ये १६ जना निको भएर घर फर्किएका छन् । हाल धनगढीमा १, बीरगञ्जमा ५, भरतपुरमा १ र बिराटगरमा ३१ गरी जम्मा ३९ जनाको उपचार भइरहेको छ । सबैको स्वास्थ्यवस्था सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।
मुलुकभर हालसम्म २२ हजार ९९ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । जसमा प्रदेश नम्बर १ मा २ हजार २ सय ८८, प्रदेश नम्बर २ मा १ हजार ५१२, वागमीत प्रदेशमा ३६१, गण्डकी प्रदेशमा ६७६, प्रदेशन नम्बर ५ मा १२ हजार १६४, कर्णाली प्रदेशमा ३ हजार ७८९ र सुदुरपश्चिम प्रदेशमा १ हजार ३०९ रहेका छन् ।
मुलुकभर आइसोलेसनमा रहेको सम्भावित विरामीहरुको संख्या १०७ रहेको छ । जसमध्ये काठमाडौं उपत्यकामा ४ जना र उपत्यकाबाहिर १०३ जना रहेका छन् ।
यसका साथै आगामी २५ गतेसम्मको लकडाउनको समयमा विभिन्न सिमा नाकाबाट यात्रुहरुको आवागमन स्थगित गरिएको छ । तर मालसामानको ढुवानी यथावत कायम राख्ने निर्णय भएको डा. देवकोटाले जानकारी गराउनुभयो ।