Logo
|
Wednesday 24th April 2024
Logo

epaper

कोरोना कहरः नेपाल नर्सिङ संघकी अध्यक्षले उठाइन् नर्सहरुको सुरक्षा र सुविधाको सवाल



जनस्वास्थ्य सरोकार, काठमाडौं । विश्व स्वास्थ्य संगठनले यो वर्षलाई नर्सिङ तथा मिडवाइफको वर्ष घोषणा गरेको छ । कोभिड १९ कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा नर्स तथा मिडवाइफको भूमिका अन्यन्त महत्वपूर्ण हुन्छ । यो बेला काम गर्दा के कस्ता चुनौतिहरु हुनसक्छन् ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कसरी सम्बोधन गर्नुपर्छ ? हाल कसरी सहकार्य भइरहेको छ ? उनीहरुले यसलाई कुन रुपमा लिएका छन् ? यसबारे बताउँदै हुनुहुन्छ नेपाल नर्सिङ एसोसिएसनकी अध्यक्ष प्रा.मनकुमारी राई । स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङमा बोलेका कुरा उहाँको आफ्नै शव्दमा ।


कोभिड—१९ का लागि अस्पतालमा काम त गरिरहेको हो तर यसलाई कसरी सम्बोधन गर्ने ? कसरी प्राक्टिसमा लैजाने ? भन्ने कुराहरु समस्याको रुपमा देखिएको छ । त्यसैले नर्सिङ लिडरदेखि लिएर स्वास्थ्यमा काम गर्ने लिडर र म्यानेजरहरुलाई समेत अवको स्वास्थ्य शिक्षा कस्तो हुनुपर्छ भन्ने यसले मार्गदर्शन गरेको छ र त्यही अनुसार अघि बढ्नुपर्ने आवश्यकता पनि देखिएको छ ।

चुनौति मात्र नभएर यसलाई हामीले अवसरका रुपमा लिएका छौं । नर्स, डाक्टर र अन्य स्वास्थ्यकर्मीहरुसँग मिलेर काम गर्ने महत्वपूर्ण क्षण हो । यसका साथै यो एक अर्काको समस्याहरु साटासाट गर्ने र संयुक्त रुपमा काम गर्दा कसरी समस्या समाधान गर्न सकिन्छ ? भन्ने एउटा अवसर पनि हो ।

नर्सिङ शिक्षा अथवा स्वास्थ्य शिक्षालाई कसरी लैजानुपर्छ ? भन्ने कोरोना कहरले पाठ सिकाएको छ । यद्यपी नर्सिङ शिक्षा प्राक्टिकल वेशमा लैजानुपर्छ र यो अहिलेको आवश्यकता पनि हो ।

जथाभावी नर्सिङ कलेज खोलेर नर्स उत्पादन गरेर मात्र भएन । त्यसको गुणस्तर मापनमा पनि ध्यान दिनुपर्छ । यसतर्फ सोच्न आग्रह गर्दछु ।
रोग कस्तो किसिमको हो ? र त्यसलाई कसरी समाधान गर्ने ? प्राक्टिसमा कसरी लैजाने ? भन्ने कुरालाई विशेष ध्यान दिनुपर्छ । यस किसिमको शिक्षा दिनुपर्ने आजको टड्कारो आवश्यकता छ । यसतर्फ ध्यान दिन जरुरी छ ।
शुरुका दिनहरुमा नर्स, चिकित्सक एवं स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने सुरक्षा सामाग्रीहरुको उपलब्धता र गुणस्तरमा समस्या देखिएको छ । यसमा विशेष किसिमको व्यवस्था गर्न मार्गनिर्देश गरेको छ ।
स्वास्थ्य तथा मन्त्रालयले व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) लगायतका अत्यावश्यक वस्तुको गुणस्तर मापन गर्ने संयन्त्र बनाउनुपर्छ । मन्त्रालयमा यो हेर्ने छुट्टै विभाग हुन जरुरी छ । यसमा ध्यान दिन विशेष आग्रह गर्दछु ।

नर्स, डाक्टर र स्वास्थ्यकर्मीहरु फ्रन्टलाइनमा बसेर बिरामीको सेवामा खटिरहेका छन् । यो बेला उनीहरुले पुर्याएको योगदानको सराहना गर्नुपर्छ । एउटा घर गृहस्थी हेर्नुपर्ने र अर्को कोभिड १९ का बिरामीहरुलाई स्याहार गर्न फ्रन्टलाइनमा बसेर काम गर्नुपर्ने नर्सहरुको दुईवटा जिम्मेवारी हुन्छ । त्यसैले उनीहरुको सुविधा र स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्छ । उनीहरुलाई स्वास्थ्य जाँचको सुविधा उपलब्ध गराइनुपर्छ । यसमा ध्यान दिन अनुरोध गर्दछु ।

बजारमा उपलब्ध व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) ले कतिको संक्रमण रोक्न सक्छ ? भन्ने कुरामा पनि ध्यान दिन जरुरी छ । गुणस्तर जाँच गर्ने विभागको छुट्टै विभागको स्थापना गरिनुपर्छ । कोअर्डिनेसन टिम बनाएर छुट्टै डिजास्तर म्यानेज्मेन्ट टिम बनाउन आवश्यक देखिएको छ । फ्रन्टलाइनमा बस्ने स्वास्थ्यकर्मीहरुको विज्ञ सहितको टिम हुनुपर्छ ।

फ्रन्टलाइनमा काम गर्ने नर्स डाक्टर, सुरक्षाकर्मीदेखि सफाईकर्मी प्रहरीसम्मलाई सेवा र सुविधा पाएको प्रमाणित गर्न चाँडो भन्दा चाँडो निर्देशिका बनाएर लागू गर्नुपर्ने आवश्यकता ठानेकी छु । यसले काम गर्न उच्च मनोबल प्रदान गर्नेछ ।

धनगढी बागलुङ, नेपालगञ्ज, कपिलबस्तु, चितवन, बीरगञ्ज, बिराटनगर, टेकु, पाटन अस्पताल र ससस्त्र अस्पतालमा फ्रन्ट लाइनमा काम गर्ने नर्स दिदी बहिनी र अन्य डाक्टर स्वास्थ्यकर्मी र सुरक्षा टिमका सबैलाई नर्सिङ संघ सराहना गर्दछ र कुनै पनि बेला कसैलाई समस्या परेमा सहयोग गर्न तत्पर छ ।

प्रतिक्रिया दिनुहोस्