Logo
|
Sunday 29th December 2024
Logo

epaper

मुलुकमा एकैदिन १० जनामा कोभिड १९ संक्रमण पुष्टि, संक्रमित संख्या ७ वर्षीय बालसहित ६९ जना पुगे

एकसाता अघि डिस्चार्ज गरिएका २ संक्रमित फेरि अस्पताल भर्ना



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल सरकारले मुलुकमा आइतबार थप जनामा कोभिड १९ कोरोना भाइरस पुष्टी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, प्रदेश नम्बर ५ को नेपालगञ्जमा पाँच पुरुष र ४ महिलासहित ९ जना र प्रदेश नं.२ को बीरगञ्जमा एक जना ३६ वर्षीय पुरुष गरी १० जनामा कोरोना पुष्टि भएको हो । नेपालगञ्जमा पुष्टि भएका कोरोना संक्रमितहरु ७ बर्षको बालकदेखि ५८ वर्ष उमेर समूहका रहेका छन् । यो सँगै नेपालमा कोभिड १९ संक्रमितहरुको संख्या ६९ पुगेको छ । तिमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् ।

हाल कति जनाको कोभिड—१९ परीक्षण भयो ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, मुलुकमा हालसम्म पीसीआर विधिबाट १३ हजार ४१४ वटा नमुना परीक्षण भएको छ भने र्यापिड टेष्ट (द्रुत परीक्षण) विधिमा आरडीटी किट प्रयोग गरेर ४९ हजार ६८८ जनाको कोभिड—१९ परीक्षण सम्पन्न भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ४७९ जनाको परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार, मुलुकभर २१ हजार ९५१ क्वारन्टीन र ७७ जना आईसोलेशनमा राखिएको छ । आइसोलेसनमा राखिएकामध्ये राजधानीमा ४ जना रहेका छन् ।

एकसाता अघि डिस्चार्ज गरिएका २ संक्रमित फेरि अस्पताल

यसैबीच कोरोनाको उपचारपछि निको भएको भन्दै नारायणी अस्पतालबाट डिस्चार्ज गरी घर पठाइएका कोरोनाका संक्रमितमध्ये २ जनालाई फेरि अस्पतालमा ल्याएर भर्ना गरिएको छ । नारायणी अस्पतालबाट वैशाख १४ गते डिस्चार्ज गरिएका चारमध्ये २ संक्रमीतलाई हप्ता दिनपछि फेरि नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको हो । रौतहटको इशानाथ नगरपालिका ८ का १९ वर्षीय किशोरलाई शनिबार राती र भारत उत्तर प्रदेशका ४१ वर्षीय जमातीलाई आइतबार दिउँसो बीरगञ्जस्थित नारायणी अस्पतालमा पुनः भर्ना गरिएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायका अनुसार, दुवैको स्वास्थ्यमा केही समस्या देखिएपछि थप अनुसन्धानका लागि अस्पतालमा ल्याइएको र दुवैको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्