कोरोना ब्रिफिङः अल्कोहल सेवन नगर्न मन्त्रालयको आग्रह
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अल्कोहल सेवन नगर्न आग्रह गरेको छ । यो लकडाउनमा धेरैले अत्यधिक अल्कोहल सेवन गर्ने गरेको र त्यसबाट ज्यानसमेत गएको समाचारहरु प्राप्त भएसँगै मन्त्रालयले सो आग्रह गरेको हो ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकाटोले अल्कोहल सेवन गरेर जोखिममा नपर्न आग्रह गर्नुभयो । घरमा एक्लै बसेको बेलामा अल्कोहल सेवन गर्दा थप बानी बस्ने, नखानेले पनि खान शुरु गर्ने भएकाले उहाँले स्वस्थ्य रहन र अरुलाई पनि स्वस्थ्य राख्न प्रोत्साहन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
हालसम्म मुलुकमा पिसिआर विधिबाट १३ हजार ८५० कोरोनाको नमुना परीक्षण भएको छ भनेको आरडिटी विधिबाट कोरोना परीक्षण भएको संख्या ५२ हजार २२७ पुगेको छ । गत २४ घण्टामा थप १ हजार ५ सय ८२ वटा नमुना परीक्षण गरिएको मन्त्रायले जानकारी गराएको छ ।
यसैगरी मुलुकभर २१ हजार ९९ जना क्वारेन्टाइनमा रहेका छन् । मुलुकभर आइसोलेसनमा रहेका १२० जनामध्ये २ जना काठमाडौं उपत्यकाभित्र रहेका छन् ।
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर विधिबाट नमुना परीक्षण भएसँगै मुलुकमा पिसिआर विधिबाट कोरोना परीक्षण गर्ने प्रयोगशालाहरुको संख्या १८ पुगेको छ ।
यसैगरी आज मात्र नेपालगञ्जमा ७ जना संक्रमितहरु पुष्टि भएसँगे मुलकुमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । जसमध्ये ६१ जना पुरुष र २१ जना महिला रहेका छन् ।
८२ जनामध्ये प्रदेश नम्बर १ मा ३१, प्रदेश नम्बर २ मा १३, बागमति प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश नम्बर ५ मा २४, कर्णाली प्रदेशमा शुन्य र सुदुर पश्चिम प्रदेशमा ५ जना फेला परेका छन् । तिमध्ये १६ जना निको भएर घर फर्किएका छन् ।
उपचाररत ६६ जनामध्ये रुपन्देहीमा १, नेपालगञ्जमा २३, धनगढीमा १, भरतपुरमा १, बीरगञ्जमा ९ र बिराटनगरमा ३१ जनाको उपचार भइरहेको छ । उपचाररत संक्रमितहरुको स्वास्थ्यस्थिति सामान्य रहेको डा. देवकोटाले जानकारी गराउनुभयो ।