Logo
|
Tuesday 30th April 2024
Logo

epaper

नेपालगञ्जमा कोभिड-१९ परीक्षणको चटारो



जनस्वास्थ्य सरोकार, नेपालगञ्ज । तीन दिनदेखि नेपालगञ्ज उपमहानगरलाई निषेधित क्षेत्र घोषणा गरेर पूर्ण रूपमा सिलबन्दी गरिएको छ । यो अवधिमा सहरका सडकमा एम्बुलेन्स, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका सवारी साधन मात्र गुडिरहेका देखिन्छन्  ।

नगरका अधिकांश क्षेत्र सुनसान छन् । यहाँ २३ जना कोरोना विषाणु (कोभिड–१९) सङ्क्रमित भेटिएपछि केही दिन अघिसम्म बन्दाबन्दी (लकडाउन) उल्लङ्घन गर्ने व्यक्ति अहिले डरले घरबाहिर निस्केका छैनन् । भारतबाट आउने तरकारीको आयात पूूर्ण रूपमा रोकिएको छ भने स्थानीय थोक तरकारी मण्डी पनि अनिश्चित कालका लागि बन्द गरिएको छ । निषेधित क्षेत्रमा कसैलाई घरबाट बाहिर निस्कन नदिइए पनि औषधि र अन्य आपत्कालीन सेवाका लागि भने सीमित सङ्ख्यामा स्थानीयवासीलाई आउ–जाउ गर्न दिइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ  ।

नगरमा निषेधित क्षेत्र घोषणा लगत्तै जिल्ला स्वास्थ्य कार्यालय बाँकेको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलीले बढीभन्दा बढी स्थानीयवासीको कोरोना परीक्षण अभियान तीव्र बनाएको छ । सङ्क्रमित फेलापरेको क्षेत्र र सो वरिपरि क्षेत्रका बासिन्दाको पहिचान गरेर स्वाब सङ्कलन र परीक्षण कार्य तीव्र गतिमा भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशमान श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार गएको तीन दिनमा पहिलो सङ्क्रमित र उहाँको सम्पर्कबाट सङ्क्रमित बनेका करिब तीन सय जनाको खोजी गरेर स्वाब सङ्कलन गरिएको छ । पहिलो दिन सङ्कलन गरिएका ५४ जनाको स्वाब परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको जनाउँदै श्रेष्ठले दोस्रो तथा तेस्रो दिन सङ्कलन गरिएका स्वाबको परीक्षण भइरहेको बताउनुभयो ।

नगरका विपन्न र मजदुरले निषेधित क्षेत्र घोषणा गरेर महामारी फैलिन नदिने प्रशासनको कदमको समर्थन गरेका छन् । यद्यपि दुई छाक टार्न समस्या भएको गुनासो उनीहरूको छ । बन्दाबन्दीका बेला पनि केही घण्टा छुट हुने हुँदा सो समयमा तरकारी बेचेर जीविका चलाइरहेका नेपालगञ्ज–११ का रहिस कबडियाले तीन दिनदेखि घरमै बस्नुपर्दा छाक टार्न समस्या भएको गुनासो गर्नुभयो ।

यो गुनासो कबडियाको मात्र होइन, नगरका अधिकांश गरिब, विपन्न र मजदुरको साझा गुनासो हो । नेपालगञ्ज–२ का राजेश बाल्मीकिले उपमहानगरपालिकाले एक महिनाअघि बाँडेको खाद्यान्न सकिएको साता पुग्न लाग्यो, बन्दले बाहिर निस्कन पाइँदैन, कसरी बालबालिका पाल्ने ? भन्दै प्रश्न गर्नुभयो । परसपुरबाट दैनिक १० किलो दूध ल्याएर बजारमा बिक्री गरी घर खर्च चलाउँदै आउनुभएका परसपुरका जयराम यादवले तीन दिनदेखि दूध बिक्री नहुँदा घर खर्च चलाउन समस्या हुन थालेको बताउनुभयो । उता स्थानीय प्रशासनले भने महामारी फैलिन नदिन नगरलाई निषेधित क्षेत्र घोषणा गरेर सिल गर्न बाध्य भएको जनाएको छ ।

एउटै टोलमा २२÷२३ जना सङ्क्रमित भेटिएपछि सङ्क्रमण थप फैलिन नदिन तथा सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिको खोजी गरेर परीक्षण अभियान सहज बनाउन नगरलाई सिल गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिनुुभयो । उहाँले अहिलेको अवस्थामा महामारी फैलिन नदिने कार्य सबैभन्दा प्राथमिकतामा छ, त्यसैले केही कडा कदम चाल्नुपर्ने अवस्था आएको स्पष्ट पार्नुुभयो ।

नगरलाई निषेधित क्षेत्र घोषणा गरेपछि सङ्क्रमितको कन्ट्याक्ट टेसिङ र स्वाब परीक्षण प्रभावकारी बनाउन सहज भएको चिकित्सकले जनाएका छन् । भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले निषेधित क्षेत्र घोषणापछि सबै धर्मका धार्मिक अगुुवाको सहयोगमा स्वाब सङ्कलन सहज बन्दै गएको बताउनुभयो । नेपालगञ्जमा एकैपटक धेरै सङ्ख्यामा सङ्क्रमित भेटिएपछि नगरभरि नै बढीभन्दा बढीको परीक्षण गर्नुपर्ने जनदबाब बढ्दै गएको छ । एक/दुई दिनमै काठमाडाँैबाट परीक्षण किट आइपुग्ने भएकाले त्यसपछि सबै वडामा परीक्षण सुरु गर्ने नेपालगञ्ज उपमहानगरका उपप्रमुुख उमा थापामगरले बताउनुभयो ।

वैशाख २३ गते बिहान ११ बजेदेखि वैशाख २५ गते मध्यरातिसम्म नेपालगञ्जलाई निषेधित क्षेत्र घोषणा गरिएको थियो । स्थानीय प्रशासनले त्यो आदेशलाई यथावत राखी अत्यावश्यक सेवा सञ्चालन र दैनिक उपभोग्य वस्तु बिक्री वितरणका लागि केही खुकुलो बनाउने निर्णय गरेको छ ।  गोरखापत्र

प्रतिक्रिया दिनुहोस्