नेपालमा कोभिड-१९ संक्रमित ११० जना मध्ये निको हुनेको संख्या ३३ पुग्यो, उपचारत ७७ जना
जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा कोरोना निको हुनेहरुको संख्या ३३ जना पुगेको छ । विराटनगरको कोशी अस्पतालमा निर्माण भएको कोभिड—१९ उपचार केन्द्रबाट आइतबार झापाका ४० वर्षीय र भोजपुरका २७ वर्षीय थप दुई जना डिस्चार्ज भएका छन् ।
प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ । डिस्चार्ज भएका भोजपुरका युवा वैशाख १० र झापाका पुरुष वैशाख १२ मा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएका थिए । लगातार तीन पटकसम्म स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएपछि उनीहरुलाई आइतबार दिउँसो डिस्चार्ज गरिएको कोभिड—१९ उपचार केन्द्रका प्रमुख डा. दीपक सिग्देलको भनाइ छ ।
दुबै जनालाई स्थानीय जनप्रतिनिधि सँगको समन्वयमा होम क्वारेन्टाइनमा बस्ने गरी एम्बुलेन्समा राखेर आइतबार नै घर पठाइएको छ । कोभिड—१९ उपचार केन्द्रबाट यसअघि बुधबार ६ र शुक्रबार ८ जना डिस्चार्ज भएका थिए।
यस अघि डिस्चार्ज हुनेमा ७ जना भारतीय, २ जना विराटनगरका र ५ जना उदयपुर भुल्केका नागरिक थिए । अब १९ जना उपचार केन्द्रमा उपचाररत छन् ।
देशभर कोभिड १९ कोरोना भाइरस संक्रमितहरुको संख्या ११० पुगेको छ । जसमध्ये ७७ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।