मुलुकमा सोमबार ११ जनामा कोभिड १९ पुष्टी, कुल संक्रमितहरुको संख्या १२१ पुग्यो
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा कोभिड १९ कोरोना भाइरस संक्रमितहरुको संख्या १२१ पुगेको छ । जसमा ८९ पुरुष र ३२ जना महिला रहेका छन् । ।
स्वास्थ्य तथा जसंख्या मन्त्रालयले सोमबार अपरान्ह सप्तरीको डाक्नेश्वरी नगरपालिकाका १८ वर्षीय पुरुष संक्रमित भएको पुष्टि गरेको छ । यसअघि आज नै मन्त्रालयले कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि गरेको थियो । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमुना परीक्षणमा उनीहरुमा कोभिड १९ पुष्टि भएको हो ।
यसरी कोभिड १९ पुष्टि हुने व्यक्तिहरुमा कपिलवस्तु, यशोधरा गाउँपालिका ५ र वुद्धभुमि नगरपालिका ७,१० निवासी १८,१९,२०,२०,२४,३०,३१,३४,३४ वर्षीय पुरुष र १ जना उमेर नखुलेका पुरुष रहेका छन् । हाल उनीहरुको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ । यो सँगै प्रदेश नम्बर ५ मा कोभिड १९ संक्रमितहरुको संख्या ४० पुगेको छ । प्रदेशहरुमध्ये संक्रमित देखिने प्रदेशन नं.५ अधिक नै हो ।
अहिलेसम्म ३३ जना कोभिड १९ निको भएर अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
तर पुनः परीक्षण गर्दा निको भएका भनिएकामध्ये काठमाण्डूका एक र पर्साका दुई जनाको शरीरमा कोरोनाभाइरस देखिएपछि उनीहरूलाई फेरि अस्पतालमा भर्ना गरिएको छ । प्रदेश नं १ मा सर्वाधिक १६ जना निको भएका छन् ।
मन्त्रालयका अनुसार, हालसम्म पीसीआर विधिबाट नेपालमा १७ हजार ८०९ जनाको परीक्षण भएको छ ।