Logo
|
Friday 27th December 2024
Logo

epaper

चीनियाँ जनमुक्ति सेनाको हवाइजहाजले नेपालमा ल्यायो कोभिड-१९ रोकथाम तथा उपचारका स्वास्थ्य सामाग्री



जनस्वास्थ्य सरोकार, काठमाडौं । चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई कोभिड-१९ सँग जुझ्न उपलब्ध गराएका स्वास्थ्य सामग्रीसहित चिनियाँ वायु सेनाको एक विमान बुधवार बिहान काठमाण्डू आएको हो । विमानमा स्वास्थ्यकर्मीहरूको व्यक्तिगत सुरक्षामा प्रयोग गर्ने पीपीई, कोरोनाभाइरसको परीक्षणमा प्रयोग हुने रसायन र अस्पतालका बेड सहितका सामग्री रहेको बताइएको छ।

चिनियाँ सेनाले नेपाल सहित विभिन्न १२ देशका सैनिकहरूलाई पछिल्ला दुई दिनमा यस्ता सैन्य सामग्री उपलब्ध गराएको उल्लेख गरेको छ। नेपाल भित्रिएका सहयोग सामग्री नेपाली सेनाको अनुरोधमा उपलब्ध गराइएको भनिएको छ।

जनमुक्ति सेनाको विमान नेपालमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी दयानन्द केसीका अनुसार सामानको भन्सार जाँचपासको प्रक्रिया अघि बढाइएको छ।सरकारले नेपाली सेनालाई जिम्मेवारी दिएर चीनसँग खरिद गरेका स्वास्थ्य सामग्री आउन ढिलाइ भएको भनिएका बेला चिनियाँ सेनाले नेपाली सेनालाई यी सामग्री हस्तान्तरण गरेको हो।

नेपाली सेनाले चीनबाट प्राप्त पछिल्लो सहयोगबारे औपचारिक रूपमा केही भनिसकेको छैन्। तर एकजना अधिकारीले बीबीसीलाई दिएको जानकारी अनुसार झण्डै ३ मिलियन युआन अर्थात ५ करोड १० लाख रूपियाँ बराबरका स्वास्थ्य सामग्री चिनियाँ जनमुक्ति सेनाले हस्तान्तरण गरेको हो ।

नेपाली सेनाका लागि स्वास्थ्य सामग्री लिएर बुधवार बिहान आएको उक्त विमान फर्किसकेको त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलले जनाएको छ।

नेपाल सहित १२ देशलाई सहयोग

चिनियाँ समाचारपत्र ग्लोबल टाइम्सका अनुसार मङ्गलबार र बुधवार जनमुक्ति सेनाका विमानमार्फत १२ वटा देशका सेनालाई मास्क, पीपईइ र ज्वरो नाप्ने थर्मोमिटर सहितका स्वास्थ्य सामग्री पठाइएको छ। चिनियाँ सेनाबाट सहयोग प्राप्त गर्ने अन्य दक्षिण एशियाली देशमा श्रीलङ्का, पाकिस्तान र अफगानिस्तान छन् । सहयोग प्राप्त गरेका देशका सेनाको अनुरोध र चिनियाँ केन्द्रीय सैनिक आयोगको अनुमोदनपछि वायुसेनाको विमानले ती सामग्री ल्याएका हुन् । चीनका सञ्चारमाध्यमहरूले चिनियाँ जनमुक्ति सेनाले महामारी नियन्त्रणका लागि अरू देशका सैनिकहरूसँग अन्तर्राष्ट्रीय सहकार्यलाई निरन्तर जारी राख्ने प्रतिबद्धता जनाएको भनिएको छ। कोरोनाभाइरस सङ्क्रमणविरुद्ध लड्न नेपाललाई अहिलेसम्म सबैभन्दा धेरै सहयोग चीनबाट प्राप्त भएको अधिकारीहरू बताउँछन्। चीनको केन्द्रका साथै प्रान्तीय सरकार र अन्य विभिन्न सहरहरूले पनि अलग अलग सहयोग पठाएका छन्। दक्षिणी छिमेकी भारतले हालसम्म २३ टन सामग्री सहयोग गरेको छ।

त्यस्तै कतार, युएई र स्विस सरकारले पनि नेपाललाई सहयोग सामग्रीहरू दिएका छन्। त्यसबाहेक जर्मनीले सहायता संस्थामार्फत् सहयोग गरेको छ। त्यस्तै ब्रिटेन सरकारले विश्व स्वास्थ्य सङ्गठनमार्फत् सहयोग गरिरहेको छ भने अमेरिकी राजदूतावासले पनि केही सामानहरू दिएको छ। नेपाली सेनामार्फत कोभिड-१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री चीनबाट दुई सरकारको स्तरमा अघि बढाइएको खरिद प्रकिया अन्तर्गत स्थलमार्गबाट हिँडेको अधिकारीहरू बताउँछन्। तर अझै पनि कैयौं समानहरू गोदाममा रहेको र हवाईमार्गबाट ल्याउने भनिएका सामग्रीको भन्सार जाँचपासमा ढिलाई भइरहेको बताइन्छ। बीबीसी

प्रतिक्रिया दिनुहोस्