Logo
|
Friday 27th December 2024
Logo

epaper

नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुग्यो, काठमाडौंमा २, जनकपुर, धादिङ, कपिलवस्तु र नवलपरासीमा कोरोना संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाललमा बिहीबार ६ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै मुलुकमा कोरोना संक्रमितहरुको संख्या २४९ पुगेको छ । जसमध्ये १९९ जना पुरुष र ५० जना महिला रहेका छन् । अहिलेसम्म ३५ जना निको भएर घर फर्किसकेका छन् ।

बिहीबार कोभिड १९ संक्रमण पुष्टि भएकाहरुमा काठमाडौं दहचोकका ७ वर्षीय बालक र काठमाडौ चन्द्रागिरी नगरपालिकाका ३२ वर्षीय पुरुष, जनकपुरकी १७ वर्षीया किशोरी, धादिङकी ३० वर्षीया महिला, नवलपरासीका ४९ वर्षीय पुरुष र कपिलवस्तुका ६ वर्षीया बालिकामा कोभिड १९ पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मुलुकमा पिसिआर र आरडिटी दुवै विधिबाट परीक्षण भइरहेको छ । बिहीबारसम्म पिसिआर विधिबाट गरिएको परीक्षण संख्या २२ हजार ६६४ पुगेको छ । पिसिआर परीक्षण शुरु गरेको माघ १४ गतेबाट हो ।
आरडिटी विधिबाट हालसम्म ६२ हजार ३२७ नमुना परीक्षण भएका छन् । आरडिटी विधिबाट परीक्षण शुरु गरिएको चैत्र १९ गतेदेखि हो ।
बिहीबारसम्म मुलुकभर १५ हजार ६०० क्वारेन्टाइनमा रहेका छन् । आज प्रदेशन नम्बर १, २, ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा हवाइ मार्गहरुबाट १४ हजार ७ सय थान आरडिटी, ७ हजार थान भिटिएम र पिपिइका स्वास्थ्य सामाग्रीहरु पठाइएको छ । यसले परीक्षणका दायरा बढ्ने र स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने सुरक्षा सामाग्रीहरु उपलब्ध स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । विभिन्न २८ जिल्लामा परीक्षण गर्ने योजना रहेको छ । ति जिल्लाहरु प्रदेश नम्बर १, २, ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका जिल्लाहरु रहेका छन् ।

आज काठमाडौं महानगरपालिका वडा नम्बर १३ अन्तर्गत पर्ने विभिन्न फलफूल र तरकारीका समितिहरुका हाताहरु, विभिन्न व्यवसायीहरु, ढुवासीसँग सम्बन्धि व्यक्ति, सरसफाई गर्ने व्यक्तिहरुलाई केद्रित गरी ३०० बढीको पिसिआर र ७ सय बढीको आरडिटी गर्ने लक्ष्यसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका सम्बन्धित महाशाखा र नेपाली सेनाका स्वास्थ्यकर्मीहरुसहितको टोलीहरु सो स्थानमा परिचालन भएको छ ।

संक्रमितहरु २० वर्षदेखि ५० वर्ष उमेर समूहका बढी रहेका छन् । नेपालका ७७ मध्ये २२ जिल्लामा सङ्क्रमित भेटिएको बताउँदै मन्त्रालयले सुरक्षित रहन मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्