Logo
|
Wednesday 22nd May 2024
Logo

epaper

संक्रमित र संभावित ३२० जना आइसोलेसनमा, कुल पुष्टि संख्या २७८ पुग्यो



जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अपडेट अनुसार, महोत्तरीका ५२ वर्षीय एक पुरुष र काभ्रे जिल्लाका २६ वर्षीय एक जना पुरुष गरी थप दुई जनामा कोभिड—१९ पुष्टि भएको छ । यो सँगै नेपालमा कोभिड—१९ कोरोना भाइरस संक्रमितहरुको संख्या २७८ पुगेको छ । यसमध्ये २२४ जना पुरुष र ५४ जना महिला रहेका छन् । अहिलेसम्म ३६ जना डिस्चार्ज भएर घर फर्किसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि शनिबार नै कपिलवस्तुका तीन जना, पर्साका दुई जना तथा बर्दिया, सिराहा, सर्लाही र चितवनका एक—एक जनामा कोभिड १९ संक्रमण देखिएको थियो ।

मुलुकमा कोभिड १९ पहिचानका लागि पिसिआर विधिबाट सम्भावित व्यक्तिहरुलाई गरिएको परीक्षणको संख्या हालसम्म २६ हजार ६ सय ९१ पुगेको छ । त्यसैगरी आरडिटी विधिबाट गरिएको परीक्षण संख्या ६५ हजार ७४९ पुगेको छ । २४ घण्टामा पिसिआर २ हजार ५७९ र आरडिटी २ हजार ६६४ परीक्षण भएका छन् ।

संक्रमित र सम्भावित संक्रमितहरु आइसोलेसनमा रहेका संख्या ३२० रहेको छ । उनीहरुमध्ये उपत्यकाभित्र ३२ जना रहेको मन्त्रालयको नियमित प्रेस ब्रिफिङ्गमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्