Logo
|
Friday 27th December 2024
Logo

epaper

संक्रमित र सम्भावित संक्रमित ४१२ जना आइसोलेसनमा, ३१ जिल्लामा पुग्यो कोभिड १९



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा एकैदिन सोमबार मात्र थप ६२ जनामा कोभिड १९ कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यो सँगै मुलुकमा कोरोना संक्रमितहरुको संख्या ३५७ पुगेको छ । जसमध्ये पुरुष २९८ जना र महिला ५९ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह मात्र थप ५३ जनामा कोभिड १९ पुष्टि भएको जानकारी गराएको छ ।

यसअघि सोमवार बिहान मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत नौ जनामा कोभिड १९ सङ्क्रमण पुष्टि गरेको थियो ।
मन्त्रालयका अनुसार, बाँके जिल्लामा ४६ जना पुरुष र एक महिलाको भेरी अस्पतालको प्रयोगशालामा, मोरङका एक जना पुरुषको विराटनगर प्रादेशिक प्रयोगशालामा, गुल्मीका एक पुरुष भैरहवाको प्रयोगशालामा र धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषा, रौतहट, धादिङ र दाङका एक—एक जना पुरुषको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी गराउनुभयो ।
उनीहरुसबै १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका रहेका छन् । हाल मुलुकमा ३१ जिल्लाका नागरिक कोभिड १९ संक्रमित भएका छन् ।
कुल संक्रमितमध्ये २ जनाको ज्यान गएको छ भने ३६ जना निको भएर घर फर्केका छन् ।
हालसम्म मुलुकमा पिसिआर विधिबाट ३० हजार ७२३ जनाको कोरोना परीक्षण भएको छ । आरडिटी विधिबाट ६९ हजार ५६० परीक्षण भएका छन् । संक्रमित र सम्भावित संक्रमित ४१२ जना आइसोलेसनमा राखिएको छ । काठमाडौं उपत्यकामा २६ जना व्यक्ति रहेका छन् । मुलुकभर २० हजार ९० जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्