कोरोनाले ३ वर्षीय बालकलाई पनि छोडेन, मुलुकमा ४५ जनाले जिते कोरोना
जनस्वास्थ्य सरोकार, काठमाडौं । बुधबार तीन वर्षीय बालकसहित थप २५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जनाएको छ ।
संक्रमित भएकाहरु बाँके, धनकुटा, कपिलवस्तु र नवलपरासी जिल्लाका व्यक्ति रहेका छन् । संक्रमितहरु ३ देखि ४८ वर्ष उमेर समूहका रहेका छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ४२७ पुगेको छ । जसमा ३५८ जना पुरुष र ६९ जना महिला छन् ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार, हालसम्म पीसीआर विधिबाट ३५ हजार ४ सय ९४ र आरडीटी विधिबाट ७५ हजार ७२ जनाको कोभिड १९ परीक्षण भएको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार चार सय ८८ र आरडीटी विधिबाट ३ हजार ६ सय १० जनाको थप कोरोना परीक्षण भएका छन् । अहिलेसम्म नेपालमा क्वारेन्टाइनमा २३ हजार दुई सय २ जना छन् ।
यसैगरी कोशी अस्पतालबाट ८ जना पुरुषहरुले कोभिड १९ जितेका छन् ।
कोसी अस्पतालमा रहेका आठ जना पुरुषको पीसीआर नतिजा नेगेटिभ आएपछि २९ देखि ३३ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने व्यक्तिहरुको संख्या ४५ पुगेको छ । कोभिड १९ संक्रमित भएका व्यक्तिहरुमध्ये २ जनाको मृत्यु भएको छ ।