Logo
|
Tuesday 21st May 2024
Logo

epaper

सर्लाहीमा थप १३ जना संक्रमितसहित शनिबार बिहान ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५४८



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको संख्या ५४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार बिहानको अपडेट अनुसार, थप ३२ जनामा नयाँ कोभिड १९ पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल, कोभिड—१९ प्रयोगशालामा परीक्षण गरिएको थियो ।
कहाँ कहाँ पुष्टि भयो ?

शनिबार बिहान पुष्टि भएकाहरुमा सर्लाहीमा १३, कपिलवस्तुमा ८, रुपन्देहीमा ८, बारामा १, चितवनमा १, काठमाडौंमा १ जना रहेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी गराउनुभएको छ ।

शनिबार बिहान कपिलवस्तुको वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४०, र ४२ वर्षका पुरुष तथा २७ वर्षीया महिला गरी ८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कपिलवस्तुमा संक्रमितको संख्या ७७ जना भएका छन् ।

यसैगरी सर्लाहीको गोडैता र कविलासी नगरपालिकाका १८ वर्षदेखि ३५ वर्ष उमेरसमूहका १३ जना पुरुषमा पनि संक्रमण देखिएको छ । सर्लाहीमा शनिबार बिहानसम्म संक्रमितको संख्या ३३ पुगेको छ ।
रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका २० देखि ५५ वर्ष उमेर समूहका ८ जना पुरुषमा पनि शनिबार संक्रमण पुष्टि भएको छ । शनिबार बिहानसम्म रुपन्देहीमा ३७ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी बाराको करैयामाई नगरपालिकाका ३७ वर्षीय पुरुष, काठमाडौंका ३५ वर्षीय पुरुष र चितवनको भरतपुर महानगरपालिका—६ का ५२ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।
सबैभन्दा बढी बाँकेमा ११५ जनामा संक्रमण पुष्टि भएको छ ।
हालसम्म क्वारेन्टाइनमा २७ हजार ८ सय २० जना रहेका छन् । कोभिड १९ पुष्टि भएका ४३३ जना आइसोलेसनमा रहेका छन् ।
हालसम्म कोरानो संक्रमण देखिएका जिल्लाहरुमा ४० पुगेको छ ।
यसैगरी हालसम्म पिसिआर विधिबाट ४२ हजार ४८८ र आरिडिटीबाट ८२ हजार ११६ जनाको कोभिड १९ परीक्षण भएको छ ।

हालसम्म कोभिड १९ संक्रमितमध्ये ७० जनाले कोरोना जितेका छन् भने ३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्