मुलुकमा कोभिड १९ संक्रमितको ठेगाना सार्वजनिकमा त्रुटी
जनस्वास्थ्य सरोकार, काठमाडौं । गत शुक्रबार भाइरस पोजेटिभ देखिएकामध्ये एक महिला काठमाडौंमा मुटुको उपचार गराइरहेकी थिइन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ति महिला हेटौडाकी भएको विवरण सार्वजनिक गर्यो ।
यसैगरी गत मंगलबार संक्रमित पुष्टि भएकी कलंकी बस्ने महिलालाई पनि मन्त्रालयले नवलपरासीकी भनेर सार्वजनिक गरेको थियो । जसका कारण कलंकीमा उनीसँग सम्पर्कमा रहेका घरधनी अन्य भाडावाल र उनी आउजाउ गरेको पसलका व्यक्तिहरुको खोजी नै गरिएन ।
नमुना संकलन गरेको स्थानको साटो स्थायी ठेगाना सार्वजनिक गर्दा संक्रमण पुष्टि भएकाहरुसँग सम्पर्क भएकाहरुको पहिचानमा समस्या देखिएको छ ।
यसले संक्रमण भित्रभित्रै फैलिने जोखिम बढाइरहेको छ ।
यसरी संक्रमितको संख्या दिनहुँ बढिरहेको अवस्थामा न पहिचानका लागि आवश्यता अनुसार जनशक्ति परिचालन गरिएको छ न त बिरामीको ठेगाना सार्वजनिक गर्न देखिएको त्रुटी नै सच्याइएको छ ।
नमुना संकलन गरिएको ठाउँको साटो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितको स्थायी ठेगाना सार्वजनिक गरेर समस्या बढाइरहेको छ ।
पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले कोभिड १९ संक्रमित व्यक्तिहरुको पहिचान र ट्रेसिङमा संवेदनशील हुन आग्रह गर्नुभएको छ । उहाँ भन्नुहुन्छ—‘संक्रमित व्यक्तिको सम्पर्कमा को को आए ? भन्ने कुरा ख्याल गर्नुपर्छ । स्थानीय तह र बाटोमा आउ जाउको क्रममा संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको सुचना लिनुपर्छ । करिब ४—५ घण्टामा सबै सुचना लिएर अर्को ४—५ घण्टाभित्रमा सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरेर स्वाव संकलन गर्ने, आइसोलेसनमा राख्ने लगायतका काम पूरा गरिसक्नुपर्छ । यस प्रकारको प्रणालीको विकास हुन जरुरी छ ।’
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई भाइरस पोजेटिभ देखिएकाहरुसँग सम्पर्क भएका व्यक्तिको पहिचानको जिम्मा दिइएको छ । महाशाखाले हाल ४ देखि ५ जनाको २५ वटा टोली परिचालन गरिरहेको छ । यो पर्याप्त नभएको निष्कर्ष सहित महाशाखाले यसका लागि हरेक स्थानीय तहमा अलग अलग समूह बनाएर १ हजार ७५ जना जनशक्ति परिचालन गर्ने योजना बनाए पनि मन्त्रालयले कुनै पनि निर्णय लिएको छैन । जसका कारण महाशाखाले ७ वटै प्रदेशमा अनलाइनमार्फत तालिम दिई स्थानीय तहलाई प्रदेशसँग समन्वय गरी काम गर्न भनेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डे भन्नुहुन्छ—‘शुरुका दिनहरुमा संक्रमितहरु १ सय जनासम्म पुग्दा हामीले यहीँबाट टिमहरु परिचालन भएका थिए । तर कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा स्वास्थ्य मन्त्रालयमा इन्सिडेन्ट कमाण्ड सिस्टम छ । सो कमाण्ड सिस्टम अन्तर्गत विभिन्न कमिटीहरु छन् । त्यो कमिटीले कसरी कन्ट्र्याक्ट ट्रेसिङलाई अझ प्रभावकारी बनाउने ? छुटेका व्यक्तिहरुलाई सम्पर्क ल्याउने, एक हजार भन्दा बढी स्थानीय तहमा यस्ता कन्ट्र्याक्ट ट्रेसिङका टिममहरु बनाउनेलगायतका उल्लेख भएको निर्देशिका नै बनेको छ ।’
संक्रमण रोकथामका लागि संक्रमित व्यक्तिसँग सम्पर्क भएकाहरुको पहिचान मुख्य काम हो । तर यो काममा मन्त्रालय र विभागबीच नै समन्वय नभएकाले पहिचानको काम प्रभावकारी हुन सकेको छैन ।