मुलुकमा धेरै कोरोना संक्रमित हुने पनि पुरुष, निको हुने पनि पुरुष नै अग्रस्थानमा
नेपालमा ६८२ संक्रमित पुग्दा कोरोना जित्नेहरुको संख्या १ सय १२
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार मात्र ८९ जना एकैदिन कोरोना संक्रमित पुष्टि भएको जानकारी गराएको छ । यो सँगै कोभिड १९ संक्रमितहरुको सख्या ६८२ पुगेको छ । जसमा पुरुषको संख्या ६०२ र महिलाको संख्या ८० रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अछाम,बर्दिया र पर्सामा थप ७ जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो । यसअघि बिहान मन्त्रालयले ७२ संक्रमित भएको पुष्टि गरेको थियो ।
हालसम्म ५१ हजार ६४२ पिसिआर विधि र ९५ हजार १९२ आरडिटी विधिबाट कोभिड १९ परीक्षण भएको छ ।
क्वारेन्टाइनमा ४६ हजार २९ रहेका छन् ।
आजमात्र २५ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै मुलुकमा कुल १ सय १२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएकाहरुमा पुरुष ८३ जना र महिला २९ जना रहेका छन् ।
संक्रमितमध्ये ४ जनाको कोरोनाबाट ज्यान गएको छ ।