Logo
|
Thursday 26th December 2024
Logo

epaper

बिना परीक्षण अनियन्त्रित नेपाल भित्रिदाको परिणाम, एकैदिन ९० जनामा पुष्टि, संख्या ७७२ पुग्यो,



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको संख्या ७७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार अपरान्ह मुलुकमा १५ जिल्लाका थप ९० जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एकैदिन यति धेरै कोरोना संक्रमित पुष्टि भएको यो सर्वाधिक संख्या मानिएको छ । मंगलबार कपिलवस्तुका २६, रौतहटका २२, सुर्खेतका १२ र बाँकेका ८, सिराहाका ५, बाराका ३ र महोत्तरी, गुल्मी, अर्घाखाँची तथा स्याङ्जामा २—२ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी जुम्ला घर भई बारामा कार्यरत दुई जनामा पनि सङ्क्रमण पुष्टि भएको छ । धनुषा, रूपन्देही, कैलाली र अछाममा एक एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । संक्रमितहरु अधिकांश पुरुष रहेका छन् ।

नारायणी अस्पतालबाट थप ४३ जना कोभिड—१९ मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यो सँगै मुलुकमा कोराना जित्नेहरुको संख्या १५५ पुगेको छ । सङ्क्रमण पुष्टि भएकामध्ये चार जनाको मृत्यु भएको छ ।

मंगलबार देशका विभिन्न स्थानमा ५५ हजार २८२ जना क्वारन्टीनमा रहेको मन्त्रालयको तथ्यांकले देखाएको छ । यो अहिलेसम्मको सर्वाधिक हो । क्वारिन्टिमा प्रदेश नं ५, प्रदेश नं २, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै संख्यामा छन् । उनीहरू अधिकांश भारतबाट फर्किएका व्यक्तिहरु हुन् ।

नेपालमा अहिलेसम्म पिसिआर विधिबाट ५४ हजार ४२४ वटाभन्दा बढी नमुना परीक्षण गरिएको छ । बिना परीक्षण भारतबाट अनियन्त्रित रूपमा नेपालीहरू नेपाल भित्रिदा रोग फैलिने सम्भावना बढेको विज्ञहरुले बताउँदै आएका छन् ।
अब आलोपालो काम
स्वास्थ्य तथा जनसङ्या मन्त्रालय मातहतको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले अस्पतालमा कार्यरत जनशक्तिलाई दुई समूहमा विभाजन गरेर काम लगाउने निर्णय गरेको छ । सबै अस्पतालहरूलाई उपलब्ध जनशक्तिलाई सुरक्षित र व्यवस्थित गर्न दुई समूह बनाई आलोपालो काममा खटाउन सचिवस्तरीय निर्णय भएको केन्द्रका प्रमुख डा. समिरकुमार अधिकारीले जानकारी गराउनुभएको छ । पहिलो टोलीले एक हप्ता र दोस्रो टोलीले दोस्रो हप्ता गरेर आलोपालो काम गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्