Logo
|
Thursday 26th December 2024
Logo

epaper

जलवायु परिवर्तन र भाइरस

जीवनशैलीमा आमूल रुपान्तरण गरी यसलाई सामाजिक संस्कारकै रुपमा विकास गर्नुपर्ने



सविता के.सी.,बोर्ड सेक्रेटरी, नेपाल नेत्रज्योति संघ । प्रकृतिदेखि अर्थात अदृश्य शक्तिको बारेमा हामी साधारण मानवले व्याख्या गर्न खोज्नु कुनै जनावरको शरीरको रौं को संख्या गन्ने बराबरको हो । यद्यपी थोरै भएपनि अनुभव, अध्ययन र अनुभूतिको आधारमा केही उल्लेख गर्न लागेकी छु ।

विश्वको जनसंख्या दिनप्रतिदिन द्रूततर गतिमा बढ्दै गइरहको छ । हामीले उपभोग गर्ने श्रोत साधनले धान्न प्रकृतिलाई हम्मे हम्मे पर्न थालेको छ किनकि उर्वर भूमि बाँझो हुँदै गएको छ । ठूला ठूला महल बन्ने र उद्योगधन्दा खोल्ने बहानामा खेतियोग्य जमीन नष्ट हुँदैछ । यही अवस्था रहिरहे पृथ्वीमा भोकमरीको अवस्था विकराल नहोला भन्न सकिन्न ।

यसैगरी पृथ्वीका मानवले उत्सर्जन गर्ने हरित गृह ग्याँसको मात्रा प्रतिवर्ष ४.८ टनका दरले थपिँदै गइरहेको तथ्याङ्क हामीले पढेका छौं ।
जनसंख्याको वृद्धि, औधोगिककरण र शहरीकरणले तापक्रम द्रूत गतिमा बढ्दै गइरहेको छ भने उर्जा र यातायातका साधनको अत्यधिक प्रयोग, वन विनाश र सुविधाभोगी, जीवनशैलीले बढाएको प्रदूषणले यहाँको जलवायु परिवर्तनमा मुख्य भूमिका खेलेको छ । यसको फलस्वरुप वायुमण्डलमा हरित गृह ग्याँसको मात्रा अत्यधिक बढ्दै गइरहेको छ ।

प्रकृतिले दिएको अनुपम उपहारमध्ये हिमाल र हिमनदीहरु जो जलवायु परिवर्तनका कारण भविष्यमा पानीका मुहानहरु सुक्ने, समुद्र सतह बढेर नजिकका आधुनिक शहरहरु डुवाउने, सदियौंदेखि वरफमा दविएर निष्क्रिय रहेका हानिकारक ग्याँस र भाइरसहरु फेरि वायुमण्डलमा फर्किन थालेका छन् ।

सदियौंदेखि माटो, चट्टान र वरफ मिलेर बनेको त्यो कडा वरफको ढिस्को पग्लनु भनेको त्यसभित्र दविएर बसेका वा संचित भएका मिथेन, कार्बन र हानिकारक मर्करी लगायत विफर, प्लेग, स्पेनिश फ्लू, एन्भाक्स जस्ता लोप भइसकेका रोगका भाइरस पुनः वायुमण्डलमा प्रवेश गर्न सक्ने खतरा वैज्ञानिकहरुले औंल्याउँदै आएका छन् ।

जलवायु परिवर्तनका कारण उत्पन्न हुने नयाँ नयाँ भाइरसहरु हामीले भोग्दै आउने क्रममा हालको कोरोना (कोभिड १९) भाइरसले हाम्रो जीवनमा ठूलो हलचल ल्याइदिएको छ । विश्व आक्रान्त बनेको छ । यसको नियन्त्रण र उपचारको खोजीमा अनुसन्धानकर्ता र वैज्ञानिकहरु रातदिन नभनी खटिरहेका छन् ।
मरेका सडेका र ढलेकाहरुले पनि विभिन्न जीव, ब्याक्टेरिया र भाइरसलाई आश्रय दिइरहेका छन् ।

आधुनिक जीवनशैली, व्यस्तता र नयाँ नयाँ स्वाद चाख्ने होडमा जिउँदै काँचै र राम्ररी नपकाई खानाले बन जंगल र वन्यजन्तुमा रहेका भाइरसहरु मानिसमा सोझै सर्ने गरेका छन् जसको ज्वलन्त उदाहरण चीनको वुहानमा चमेरोले सर्प खाएको र सोही सर्प मानिसले खाएको भन्ने अपुष्ट समाचारका कारण आज विश्व सोही भाइरसको कारण आच्छु आच्छु भएको छ । त्राहिमामको अवस्थामा पुगेको छ ।

विश्वमा धेरैले ज्यान गुमाइरहेका छन् । यो क्रम बढ्दो अवस्थामा रहेको छ । यसको कुनै भ्याक्सिन वा दवाई अहिलेसम्म आधिकारिक रुपमा आइनसकेको जानकारी प्राप्त भैरहँदा यो संख्या अझै बढ्दै गई विकराल रुप लिन सक्ने खतरा बढ्दैछ ।
यति मात्र कहाँ हो र जलवयु परिवर्तनका कारण अमेरिकी फौजी किराले विभिन्न मुलुकहरुलाई सताइरहेको बेला हालै अफ्रिकी मुलुकहरु केन्या, सोमालिया, तान्जेनीया, युगान्डा दक्षिणी सुडान, जिवुटी इथियोपिया र पाकिस्तान हुँदै भारतका विभिन्न क्षेत्रमा अहिले सयौं हेक्टर जमिनमा लगाइएको बालीलाई फट्याङ्ग्रा प्रजातिको सलह नामक किराले ३५ हजार मानिसलाई खानपुग्ने अन्नबाली एकै दिनमा खाएर सखाप पारिरहेको छ । करौडौको हुल आउने यस्ता किरालाई नियन्त्रण गर्न सकिएन भने यसले प्रभावित क्षेत्रमा भोकमरी नल्याउला भन्न सकिन्न ।
जलवायु परिवर्तनका कारण आज विश्वमा ठूलाठूला आँधिहुरी, तुफान, सुनामी जस्ता भयंकर प्रकोपहरु भोग्न परिरहेको छ । भर्खरै भारतमा अमफान नामक चक्रले धेरै जनधनको नाश गरेको छ ।

यस कारण जलवायु परिवर्तनका कारण हामीले भोगिरहेका समस्याहरु समाधानार्थ राज्यले उचित नीति नियम वनाई लागु गर्न अत्यावश्यक भइसकेको छ भने जनताहरुले पनि  सादा दैनिक जीवनयापनमा जोड दिन जरुरी छ ।

प्राकृतिक श्रोतको अत्यधिक दोहन र जलवायु परिवर्तनको असर व्यापक हुँदा पृथ्वीमा रहेका मानवजाति, जीवजन्तु र पशुपंक्षीहरु प्रत्यक्ष मारमा पर्न थालेका छन् । यसबाट जोगिन र भावी सन्ततिले अझ विकराल रुपको सामना गर्न नपरोस् भन्नका लागि जनसंख्या नियन्त्रण, सादा जीवनशैली, करोडौं हेक्टर खाली जमिनमा वृक्षारोपण, नीजि वन र कृषि वनको विकास आदि कुराहरुमा सुधार गर्न सकिन्छ
यस्ता कुराहरुमा सुधार गर्न सके पृथ्वीलाई आवश्यक थप कार्वन संचय गर्न सकिन्छ । यसले वातावरण स्वच्छ राख्न मद्धत पुर्याउँछ र रोगव्याधी तथा भाइरसहरु उत्पन्न हुन पाउँदैन । त्यस्तै जडिबुटी र विषालु झारपातबाट निस्कने रस र गन्धले कतिपय ब्याक्टेरिया तथा भाइरसहरु नाश गर्छ भन्ने वैज्ञानिक आधारहरु भेटिएका छन् ।

हालको असन्तुलित र उत्तरदायित्वविहीन विकासको दौडमा हरेक देश कुदिरहेको छ । प्रविधि र आर्थिक विकास गर्ने होडमा विनास पनि ल्याउँदछ भन्ने हेक्का कसैले राखेको पाइँदैन । हामीले प्रकृतिलाई क्षत विक्षत बनायौं । उपभोग भन्दा पनि दोहन गर्यौं । यसैले प्रकृतिले हामीलाई पटक पटक विभिन्न रुपमा सावधान गराइरहेको छ ।

प्रकृतिसँगको सहअस्तित्वमा नै हाम्रो अस्तित्व छ भन्ने कुरा बुझन् र बुझाउन जरुरी छ ।
विश्व अर्थतन्त्र कता गइरहेको छ । स्टेफन हकिंगस्ले भनेजस्तो यो स्वर्गसरी पृथ्वीलाई तहस नहस नपारी जीवनको कुनै आधार नभएको अन्य ग्रहमा मानव बस्ती बसाउने जस्ता तुकहीन काममा गरिने लगानीले हामीलाई अस्तित्व विहीन बनाउने पक्का छ ।
अहिले विश्वको लगानी कोकाकोला जस्ता हानिकारक पेय पदार्थ उत्पादन, फूटवल, चलचित्र निर्माण जस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्ने दौडमा छ । जसबाट क्षणिक आर्थिक लाभ होला । तर दीर्घकालीन लाभ दिने भनेको मानव कल्याणकारी क्षेत्रमा लगानी अनुसन्धान र प्राकृतिक संरक्षण गर्नमा प्रयोग हुँदो हो त आज विश्व यो भयावह अवस्थाबाट गुज्रने थिएन होला । अझै पनि ठूला लगानीकर्ताहरुको ध्यान यसतर्फ खिच्न सके मानवजाति र प्रकृतिले राहतको महशुस गर्न पाउने थिए । मानव कल्याणकारी क्षेत्र र प्रकृति संरक्षणका लागि आजका युवा अभियानकर्मी र वैज्ञानिकको ध्यानकर्षण बढाउन अत्यावश्यक देखिएको छ ।

अन्त्यमा,
पृथ्वी यो ब्रम्हाण्डको एक मात्र स्वर्ग हो । जीवन जीवात्माको जीवन धान्ने अद्भूत क्षमताको खानी मात्र नभई यसको सुन्दरताको वर्णन गर्न हाम्रो क्षमता भन्दा बाहिरको कुरा हो । यसको संरक्षण, सम्बद्र्धन र मानव मैत्री विकास गर्न हामी मानव जातिले आफ्नो जीवनशैलीमा आमूल रुपान्तरण गरी यसलाई सामाजिक संस्कारकै रुपमा विकास गर्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्