‘कन्ट्याक्ट ट्रेसिङ’ कोरोनाभाइरस नियन्त्रणको अस्त्र, ‘समयमै गर्न नसके काम छैन’
नेपाल हेल्थ न्युज, काठमाडौं । देशभर कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या तीव्र गतिमा बढिरहँदा भाइरस नियन्त्रणमा महत्त्वपूर्ण हतियार कन्ट्याक्ट ट्रेसिङ नेपालमा प्रभावकारी हुन नसकेको देखिएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल अनुसन्धान एकाइ प्रमुख डा. शेरबहादुर पुन ठूलो सङ्ख्याको परीक्षण र कन्ट्याक्ट ट्रेसिङ कोरोनाभाइरस नियन्त्रणको अस्त्र रहेको बताउँछन्।
डा. पुन भन्छन्,-मुलुकका विभिन्न स्थानमा सङ्क्रमण समुदायमा सरिसकेको उदाहरणहरू छन्। तर त्यसको प्रमाण दिनसक्ने अवस्था छैन। प्रमाण परीक्षण र कन्ट्याक्ट ट्रेसिङले दिने हो।’ सरकारी अधिकारी भने सङ्क्रमितहरूको सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान गर्नका देशभरि १,०७५ टोली ‘व्यापक रूपमा परिचालन गरिएको’ बताउँछन्।
‘समयमै गर्न नसके काम छैन’
तर कन्ट्याक्ट ट्रेसिङ समयमै गर्न सके मात्रै प्रभावकारी हुने डा. पुन बताउँछन्। ‘हाम्रो जस्तो समाजमा कन्ट्याक्ट ट्रेसिङ गरिसकेपछि चाँडो परीक्षण गर्न सक्नुपर्छ। सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएकाहरूलाई आइसोलेशनमा राख्नुपर्छ,’ उनले भने। सरकारले कन्ट्याक्ट ट्रेसिङका लागि स्थानीय तहहरूलाई बढी जिम्मेवार बनाएको छ।
तर विज्ञताका साथै आवश्यक स्रोतसाधनको कमीका कारण त्यसतर्फ अग्रसर हुन उनीहरूलाई गाह्रो परेको जानकारहरू बताउँछन्। एक जना सङ्क्रमित हुँदा कम्तीमा १० देखि १२ जनालाई सम्पर्क गर्नुपर्ने हुनसक्ने सरकारी आकलन छ। हालसम्म काठमाण्डूमा मात्रै ४,००० भन्दा बढी सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाँउछ।
‘सङ्क्रमितहरूको सम्पर्कमा आएका करिब १०,००० को पहिचान गर्ने काम सकिसकेका छौँ,’स्वास्थ्य मन्त्रालयको एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताए।
डा. पाण्डेले सङ्क्रमितहरूको सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान गर्नका लागि देशभरि १,०७५ टोली ‘व्यापक रूपमा परिचालन गरिएको’ र त्यसका लागि आवश्यक बजेट विनियोजनका लागि स्वीकृति प्राप्त गरेको बताए। कन्ट्याक्ट ट्रेसिङ गर्न र त्यसलाई निरन्तर पछ्याउनका लागि करिब २६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको गरिएको छ।
“हामीले अहिले सूक्ष्म ढङ्गले योजना बनाइरहेका छौँ। प्रतिबन्धात्मक व्यवस्था कायम रहेकै अवस्थामा कन्ट्याक्ट ट्रेसिङ व्यापक बनाउने हाम्रो योजना हो,” डा पाण्डेले भने।
के भन्छन् स्थानीय प्रतिनिधि?
सङ्क्रमणको हटस्पट बन्दै गएको भनिएको काठमाण्डू महानगरपालिका वडा नं ३ मा हालसम्म दुई चरणमा गरी कन्ट्याक्ट ट्रेसिङमार्फत् बुधवार अपराह्नसम्म ३९ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको वडासचिव शान्ता पहाडी बताउँछिन्। “तर कसैको पनि नतिजा पोजिटिभ आएन,” उनले भनिन्।
सरकारले जारी गरेको निर्देशिकामै आधारित रहेर सङ्क्रमण पुष्टि भएको पाँच दिनपछि कन्ट्याक्ट ट्रेसिङ गरिएकाहरूको परीक्षण गर्ने गरिएको उनको भनाइ छ। करिब ५०,००० जनसङ्ख्या रहेको वडामा किन यति कम कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गरिएको छ त?
पहाडी भन्छिन्, “बाहिर चर्चामा आए जस्तो धेरै सङ्क्रमित छैनन्। ठूला अस्पताल धेरै रहेको र त्यहाँ ल्याइएका बिरामी पनि गनिएकाले सङ्क्रमित बढी देखिएका छन्। हाल वडामा दुई जना सक्रिय सङ्क्रमित छन्।”
यस्तै उपत्यकाकै अर्को जिल्ला भक्तपुरस्थित मध्यपुर थिमी नगरपालिकाको वडा नं ९ मा पनि हालसम्म दुई दर्जनको कन्ट्याक्ट ट्रेसिङका आधारमा पीसीआर परीक्षण गरिएको बताइएको छ। त्यहाँ स्थानीय बासिन्दा र डेरामा बस्नेहरू सहित करिब १०,००० को बसोबास रहेको वडाध्यक्ष रामकाजी चक्रधर बताउँछन्।
सङ्क्रमण फैलिरहेको अवस्थामा आफूहरूले ‘एक घर एक परीक्षण’ गर्न खोजेको भए पनि परीक्षण कीट प्राप्त गर्न नसक्दा समस्या परेको उनी बताउँछन्।
चिनियाँ सहरको अनुभवले के भन्छ?
केही समयअघि द ल्यान्सेट इन्फेक्सियस डीजीजेजले प्रकाशन गरेको एउटा अध्ययनमा चीनको सेन्जेन सहरमा कोरोनाभाइरस सङ्क्रमण फैलिन नदिन एकान्तवास र सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएकाको पहिचान निकै सहयोगी सिद्ध भएको उल्लेख गरिएको छ।
अमेरिकास्थित युनिभर्सिटी अफ मिनेसोटा अन्तर्गतको सेन्टर फर इन्फेक्सीयस डीजीज रिसर्च एन्ड पोलीसीका अनुसार उक्त अध्ययनका क्रममा सोधकर्ताहरूले ३९१ जना कोभिड-१९ बिरामी अनि निगरानी र कन्ट्याक्ट ट्रेसिङका आधारमा उनीहरूका सम्पर्कमा आएका १,२८६ व्यक्तिहरू पत्ता लगाइएको थियो।
शोधकर्ताहरूका अनुसार सेन्जेनमा गरिएको निगरानीले सङ्क्रमित व्यक्तिले समुदायमा सङ्क्रमण सार्न सक्ने सम्भावना दुई दिनले पछि धकेलेको पाइएको छ।
त्यस्तै उनीहरूले कोभिड-१९ फैलिन नदिने कुरामा कन्ट्याक्ट ट्रेसिङ र एकान्तवास प्रभावकारी रहेको तर त्यसको पूर्णरूपमा प्रभाव भने अस्पष्ट र लक्षणविनाका सङ्क्रमितहरूको सङ्ख्यामा निर्भर हुने बताइएको छ।
एक हातले ताली बज्दैन
कन्ट्याक्ट ट्रेसिङको कार्यमा सरकारको मात्रै भूमिका प्रभावकारी नहुने जानकारहरू बताउँछन्। त्यस्तै परीक्षणका लागि नमुना दिएकाहरूले सङ्क्रमित भए सरह नै एकान्तवासमा बसिदिनुपर्ने र सहयोगी भूमिका निर्वाह गरिदिनुपर्ने डा. पाण्डे बताउँछन्। डा. पुनको पनि त्यस्तै भनाइ छ। “यसमा सर्वसाधारणले चासो दिनु पर्छ। यस्तो जटिल कार्यमा एक हातले ताली बजाउन गाह्रो हुन्छ,” उनले भने। बीबीसीबाट साभार