Logo
|
Thursday 28th March 2024
Logo

epaper

डाक्टर केसीको अनशन स्थगित



जनस्वास्थ्य सरोकार, जुम्ला ।  चिकित्सा शिक्षामा सुधारसहित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तत्काल एमबीबीएस पढाइ सुरु हुनु पर्ने माग राख्दै आएका डा.गोविन्द केसीले बिहीबारदेखि सुरु गर्ने भनेको सत्याग्रह स्थगित गरेका छन् ।

पछिल्लो समयमा जुम्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको र जुम्लाका स्थानीयले सत्याग्रह केही समय रोकिदिन गरेको आग्रहअनुसार अनशनलाई केही समय स्थगित गरेको डा.गोविन्द केसीले बताए ।

‘हाल चलिरहेको कोभिड महामारीले विकेन्द्रित र गुणस्तरीय स्वास्थ्य सेवा कति महत्वपू्र्ण छ भन्ने कुरा प्रष्ट पारेको छ । हाल नेपालमा विद्यमान स्वास्थ्य प्रणाली कति नाजुक छ, हाम्रो सार्वजनिक स्वास्थ्य सेवा कति अपर्याप्त छ र निजी स्वास्थ्य सेवा कति महंगो छ भन्ने यो महामारीले छर्लंग देखाएको,’ उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘रोग लाग्नै नदिइ रोकथाम गर्ने सामुदायिक चिकित्सा र जनस्वास्थ्यको अवस्था कति नाजुक छ भन्ने पनि अब प्रष्ट भएको छ ।’

डा. केसीले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रा तर्फबाट हामीले सुरु गरेको सुधार अभियान पनि जारी छ । पछिल्लो समय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका कार्यक्रमहरु सुरु गर्नुपर्नेलगायतका मागहरु राखेर हामीले आजदेखि सत्याग्रहको घोषणा गरेका थियौं । हाम्रा मागहरुमध्ये सबैजसो विगतमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने थिए । तर सरकारले माग पूरा गर्नको सट्टा उल्टै हक अधिकारको माग गर्ने जुम्लावासीहरुलाई धम्क्याउने र दमन गर्ने काम गरेको छ । प्रधानमन्त्री ओलीको केन्द्र सरकारदेखि कर्णालीको प्रदेश सरकारसमेत जायज मागसहितको हाम्रो आन्दोलनलाई दमन गर्न लागिपरेका छन् ।’

सरकारले मागहरु पूरा नगरेको खण्डमा कुनै पनि बेला पुन: सत्याग्रह सुुरु गर्ने पनि डा. केसीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्