रिएजेन्ट सकिएपछि भरतपुर कोभिड–१९ प्रयोगशाला मङ्गलबारदेखि बन्द
जनस्वास्थ्य सरोकार, भरतपुर । भरतपुर अस्पतालले सञ्चालन गरेको भरतपुर कोभिड–१९ प्रयोगशालामा पिसीआर परीक्षणको रिएजेन्ट सकिएपछि मङ्गलबारदेखि प्रयोगशाला बन्द भएको छ । यहाँ सङ्कलन भएको नमूना काठमाडौँ पठाउन थालिएको छ ।
प्रयोगशाला प्रमुख डा नीतु अधिकारीका अनुसार सोमबार रिएजेन्ट सकिएपछि यहाँ परीक्षण गर्न रोकिएको छ । मङ्गलबार मात्र ३२५ वटा नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जनस्वास्थ्य प्रयोगशालालगायत अन्य प्रयोगशालामा रिएजेन्ट खोज्ने काम भइरहेको अधिकारीको भनाइ छ ।
प्रयोगशालामा चाहिने आर एन ए एब्सट्र्याक्सन किट र पिसीआर रिएजेन्ट मध्ये रिएजेन्ट अभाव भएको हो । जिल्लामा निजी क्षेत्रमा चितवन मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पिसीआर परीक्षण गर्दै आएका छन् । ती दुवै संस्थाले शुल्क लिएर परीक्षण गर्दछन् । भरतपुर प्रयोगशालाले भने निःशुल्क परीक्षण गरिरहेको छ ।
गत चैत २२ गते शुरु भएको यस प्रयोगशालाले हालसम्म २५ हजारभन्दा बढी नमूनाको परीक्षण गरिसकेको छ । चितवनसहित बाहिरी जिल्लाबाट समेत नमूना परीक्षणका लागि यहाँ पठाइने गरेको छ । रासस