Logo
|
Friday 26th April 2024
Logo

epaper

बाँकेमा कोरोना सङ्क्रमणबाट थप दुई जनाको मृत्यु, मृतकको संख्या १५ पुग्यो



जनस्वास्थ्य सरोकार, नेपालगन्ज । बाँकेमा कोरोना भाइरस (कोभिड१९) सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ रानीतलाउ निवासी ४१ वर्षीय र कोहलपुर नगरपालिका वडा नंं १० निवासी ५३ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, इको विभागमा कार्यरत ४१ वर्षीय पुरुष निमोनियाबाट ग्रसित थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गत भदौ ३१ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो । कोरोनाको आशङ्कामा स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको श्रेष्ठले बताउनुभयो ।

शिक्षण अस्पताल कोहलपुरमै उपचाररत कोरोना सङ्क्रमित कोहलपुर– १० निवासी ५३ वर्षीय पुरुषको पनि उपचारकै क्रममा आज बिहान ४ः१५ बजे अस्पतालमै मृत्यु भएको हो । उनी पनि निमोनियाबाट ग्रसित रहेको र स्वास्थ्यमा समस्या देखिएपछि असोज ४ गते अस्पताल भर्ना गरिएको थियो । उनको स्वाब परीक्षण गर्दा असोज ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले बताउनुभयो ।

तिनको शव व्यवस्थापनका लागि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले समन्वय र तयारी गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यससँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्