Logo
|
Tuesday 16th April 2024
Logo

epaper

सिन्धुली अस्पतालका कर्मचरीलाई कोरोना संक्रमण, आकस्मिक र प्रसुतीबाहेकका सबै सेवा बन्द



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सिन्धुली अस्पतालमा कार्यरत केहि कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक र प्रसूतिबाहेकका अन्य सेवा बन्द भएको छ ।
सिन्धुली अस्पताल प्रशासनले एक सूचना जारी गर्दै अस्पतालमा उपचारका क्रममा सेवाग्राहीलाई समेत कोरोना सङ्क्रमण हुनसक्ने भएकाले आपत्कालीन उपचारबाहेकका अरु सेवा बन्द गरेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले जिल्लामा कोरोना भाइरस सङ्क्रमित बढ्दै गएको र यसबाट अस्पतालका कर्मचारी पनि सङ्क्रमित भएकाले अर्को सूचना जारी नहुञ्जेलसम्म आजदेखि अस्पतालको आकस्मिक र प्रसूतिबाहेक सम्पूर्ण सेवा बन्द गरिएको बताउनुभयो ।

‘कोभिड–१९ को जाँच तथा स्वाब सङ्कलनमा खटिएका कर्मचारीमा कोभिड पोजेटिभ देखाएको छ,’ उहाँले भन्नुभयो- ‘यस अवस्थामा पनि सेवा प्रवाह गर्दा कोरोना सङ्क्रमण फैलनसक्ने भएकाले केही दिन ओपिडी सेवा बन्द गराएका हौँ ।’

हालसम्म सिन्धुली अस्पतालमा कार्यरत नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने सात निको भइसकेको र दुई जना आइसोलेसनमै रहेको पोखरेलले जानकारी दिनुभयो । मङ्गलबार जिल्लामा सबैभन्दा बढी नौ महिला र १८ पुरुष गरी २७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।

जिल्लामा हालसम्म १०४ पुरुष र २९ महिला गरी १३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । १९ महिला र ३३ पुरुष गरी ५२ आइसोलेसनमा छन् । ७७ जना कोरोना निको भएर घर फर्किएका छन् । अब ४२ जनाको पिसीआरको रिर्पोट आउन बाँकी छ । जिल्लामा केही दिनयता लगातार कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या उकालो लागिरहेको छ ।

यस्तै बन्दाबन्दी शुरु भएदेखि हालसम्म विदेशबाट एक हजार ४८४ जना जिल्लामा आएका छन् । भारतबाट १०० महिला र ६६३ पुरुष गरी ७६३ जना सिन्धुलीमा आएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । अन्य मुलुकबाट १५३ महिला र ६३२ पुरुष गरी ६८५ जना जिल्लामा आएको जानकारी दिनुभयो ।

विदेशबाट आएकालाई कमलामाई नगरपालिका–६ शिवनगरमा रहेको क्वारेन्टिनमा राखिने र उनीहरुको पिसीआर जाँच गरेपश्चात नेगेटिभ रिर्पोट आएकालाई १४ दिन होमक्वारेन्टिनमा बस्ने शर्तसहित घर पठाउने गरिएको बताउनुभयो । यस्तै जिल्लाका विभिन्न पालिका तथा जनप्रतिनिधिको सम्पर्कमा विदेशबाट आएका व्यक्तिलाई पनि सम्बन्धित पालिकाले पनि क्वारेन्टिनमा राख्ने गरेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्