Logo
|
Sunday 22nd December 2024
Logo

epaper

रामेछापमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै, मन्थली नगरपालिका ५ दिनका लागि बन्द



जनस्वास्थ्य सरोकार, रामेछाप । रामेछाप जिल्लामा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि नगरपालिका कार्यलय ५ दिनका लागि बन्द गरिएको छ ।

नगरपालिकामा कार्यरत दुई, नेपाल विद्युत् प्राधिकरणका एक, राष्ट्रिय वाणिज्य बैंकका एक कर्मचारी, दुई व्यवसायी, तामाकोशी बोर्डिङ्ग स्कूलका एक र प्राथमिक स्वास्थ्य केन्द्रका एकसहित एकैदिन १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि कार्यालय बन्द गरिएको नगरप्रमुख रमेश कुमार बस्नेतले जानकारी दिनुभयो ।

नगरपालिकाले असोज २८ देखि कात्तिक २ गतेसम्म कार्यालयबाट प्रवाह हुने अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको नगर प्रमुख बस्नेतले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाबाट प्रवाह हुने स्वास्थ्य, विपद् र फोहोर व्यवस्थापन जस्ता अत्यावश्यक सेवा भने चल्ने छन् ।

केही दिनयता मन्थली बजारमा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि नगरपालिकामा कोरोना सङ्क्रमण उच्च बन्दै गएको उहाँको भनाई छ । मन्थली बजार क्षेत्रमा कोरोना सङ्क्रमितको सङ्ख्या बढे पनि दिनप्रतिदिन भीड बढने क्रम घटेको छैन । नागरिकले मास्क प्रयोग र सामाजिक दूरी कायम नगर्नु सङ्क्रमण बढ्नाको मुख्य कारण भएको उहाँको दाबी छ ।

रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ६३ पुगेको छ । जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ३७ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय २६ जनामा गरी २ सय ६३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

जिल्लामा आजसम्म २ हजार ७१ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये १८ सय २२ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १ सय ३७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

अझै १ सय १२ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । उनिहरुको रिपोर्ट केहि दिनमा आउने छ । जिल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ७० जनाको उपचार भईरहेको छ ।

कोरोना भाइरसबाट आउन सक्ने जोखिमलाई ध्यानमा राखी जिल्लामा अहिलेसम्म १०८ शय्याको आइसोलेशन कक्ष र ४९० शय्याको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा ३३ जना क्वारेन्टिनमा

जिल्लाको विभिन्न पालिकाहरुमा आजसम्म ३३ जना क्वारेन्टिनमा रहेका छन । ३ जना महिला र ३० जना पुरुष गरी ३३ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । गोकुलगंगा गाउँपालिकामा २३ जना र लिखु तामाकोशी गाउँपालिकामा ७ जना गरी जिल्लाभर ३० जना क्वारेन्टिनमा रहेका छन् ।रामेछाप , मन्थली , दोरम्बा , खाँडादेवी, उमाकुण्ड र सुनापति गाउँपालिकामा भने कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्