Logo
|
Friday 29th March 2024
Logo

epaper

‘हातको स्वच्छता कोरोना भाइरस निष्क्रिय पार्ने महत्वपुर्ण अस्त्र हो’- राष्ट्रपति विद्यादेवी भण्डारी



जनस्वास्थ्य सरोकार, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्न हातको स्वच्छता हुुनुपर्छ भन्ने सन्देश नागरिकसम्म पुर्याउन अपरिहार्य भएको बताउनुभएको छ ।

विश्व हात धुने दिवस (अक्टोबर १५) को अवसरमा शुभकामना दिनुहुँदै राष्ट्रपति भन्डारीले कोरोना भाइरसलाई निष्क्रिय बनाई सङ्क्रमणमा कमी ल्याउने महत्वपूर्ण औजारमध्ये हातको स्वच्छता पनि एक भएको बताउनुभयो ।

उहाँले भन्नुभयो -‘साबुनपानीले २० सेकेण्डसम्म मिचिमिची हात धुँदा श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने र इबोला, हेपाटाइटिस, सार्स जस्ता जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य अध्ययनले देखाएको छ ।’

नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आएको छ । यस वर्ष ‘हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैँ साथसाथ’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।

उहाँले घर, विद्यालय, स्वास्थ्य केन्द्र, कार्यालय, उद्योग, सार्वजनिकस्थल आदिमा साबुनपानीले हात धुने सुविधा, सोसम्बन्धी नौला र सिर्जनशील उपाय एवं प्रविधिको विकास र विस्तारमार्फत हातको स्वच्छतासम्बन्धी नियमित व्यवहारको विकास गरी सबै नागरिकको जीवनलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाउन पनि आह्वान समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्