Logo
|
Friday 19th April 2024
Logo

epaper

पोखरा महानगरपालीकाले कोरोना संक्रमितका लागि १०४ श्ययामा अक्सिजन पाइप जडान गर्दै



सांकेतिक तस्बिर

जनस्वास्थ्य सरोकार, काठमाडौँ । पोखरा महानगरपालीकाले कोरोना संक्रमण भई स्वासप्रश्वासमा समस्या देखिएका बिरामीहरुको उपचारका लागि दुइ अस्पतालमा अक्सिजन पाइप जडान गर्ने भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७० श्यया र लेखनाथस्थित सङ्क्रामक रोग अस्पतालमा ३४ श्ययाका लागि अक्सिजन पाइप जडान गर्ने काम सुरु भइरहेको महानगरमा उपप्रमुख मञ्जु गुरुङले जानकारी दिनुभयो ।

पोखरामा दिनप्रतिदिन कोरोना संक्रमण बढेसँगै जटिल समस्या भएकाको सहज उपचारका लागि महानगरले पूर्वाधार र कर्मचारी व्यवस्थापनका लागि १९ लाख रुपियाँ बजेट छुट्याएको छ ।

अक्सिजन पाइप जडानका लागि रु १० लाख र सो सञ्चालनका लागि आवश्यक दक्षजनशक्ति परिपूर्ति गर्न तत्काल ९ लाख गरी कूल रु १९ लाख बजेट विनियोजन गरिएको उपप्रमुख गुरुङले बताउनुभयो ।

‘अहिलेको विषम् परिस्थितिलाई मध्यनजर गर्दै दुइ अस्पतालका १०४ श्ययाका लागि अक्सिजन पाइप जडान गरेर र सङ्क्रमितको उपचारमा सहजता ल्याउने प्रयासमा लागेका छौँ ।’- उहाँले भन्नुभयो ।

महानगरको सहयोगमा अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको ७४ श्ययामा अक्सिजन पाइप जडान गर्ने कार्य भइरहेको र यसै हप्ता तयार हुने प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले जानकारी दिनुभयो । अक्सिजनपाइप जडानले कोरोना सङ्क्रमितको उपचारमा सहज हुने उहाँको भनाइ छ ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार ७४० पुगेको छ । तीमध्ये चार हजार ३३५ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ८० जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्