चितवनमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११६ पुग्यो
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चितवन जिल्लामा हालसम्म कोरोना संक्रमणबाट ११६ जनाले ज्यान गुमाएका छन । ति मध्ये ६४ जना जिल्लाकै र अन्य १२ जिल्लाका रहेका छन ।
नेपाली सेनाको कालीबहादुर गण भरतपुरका अनुसार चितवनबाहेक नवलपरासीका १८ जना, मकवानपुरका १२ जना, रौतहटका ४ जना, सर्लाहीका ४ जना, तनहुका ३ जना, गोरखाका ४ जना, कैलालीका २ जना, बारा, रुपन्देही, गुल्मी, धादिङ र प्युठानका एक–एक जनाको जिल्लाका विभिन्न अस्पतालमा मृत्यु भएको छ ।
कालीबहादुर गण आफैले हालसम्म १०७ शवको व्यवस्थापन गरिसकेको जनाएको छ । बाकीँ सम्बन्धित जिल्लामा समन्वयन गरी अन्त्येष्टिका लागि लगिएको हो । जिल्लामा हालसम्म ५ हजार ९२३ जना संक्रमित भएका छन । ती मध्ये ६४ जनाको मृत्यु भएको छ ।
चितवनले आफ्नो जिल्लाको मात्र नभएर छिमेकि जिल्लाका संक्रमितको पनि उपचार र शव व्यवस्थापन गरेको हुँदा मृतकको संख्या बढी हुन आएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार संङ्घिय भरतपुर अस्पताल, दुई मेडिकल कलेज र निजी अस्पतालले समेत संक्रमितको उपचार गर्दै आएका छन ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी सङ्क्रमितहरु जटिल भएपछि यस जिल्लामा उपचारका लागि आउने गरेकाले मृत्यु सङ्ख्या बढी भएको बताउनुहुन्छ । पछिल्लो समय काठमाडौँ जानुभन्दा सहज उपचार चितवनमा हुने भन्दै छिमेकी जिल्लाबाट आउने क्रम बढेको उहाँको भनाइ छ ।