Logo
|
Saturday 4th May 2024
Logo

epaper

होम आइसोलेसनमा कसरी बस्ने ? परिवारको भुमिका कस्तो हुनुपर्दछ ?



पूर्वस्वास्थ्य सचिव एवं प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. सुधा शर्मा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशभरि झण्डै ३० हजार सक्रिय संक्रमित होम आइसोलेसनमा छन् । सरकारले गत असारमा कोभिड १९ सम्बन्धि स्वास्थ्य निर्देशिका जारी गर्दा संक्रमण पुष्टि भएका तर लक्षण र चिन्ह नभएका व्यक्तिलाई घरमै एकान्तवासमा बस्ने व्यवस्था गरेको थियो ।

संक्रमितको संख्या बढ्ने क्रममा होम आइसोलेसन बसेका कैयौँ संक्रमितको राम्रो रेखदेख तथा उपचार अभावका कारणले पनि निधन भएको बताइएको छ । सुरक्षित होम आइसोलेशन र अपनाउनुपर्ने साबधानीबारे स्वास्थ्य मन्त्रालयकी पूर्वस्वास्थ्य सचिव एवं प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर सुधा शर्माको भनाई उहाँकै शव्दमा:

भरसक कोरोना संक्रमित बस्ने छुट्टै कोठा हुनुपर्छ । साथै शौचालय पनि छुट्टै हुनुपर्छ । हाम्रो परिप्रेक्षमा यो सम्भव नहुनसक्छ । त्यसकारण एउटै कोठा भएतापनि हामीले कम्तिमा ६ फिटको दुरी कायम पर्दछ । । झ्याल ढोका सधैँ खुल्ला राख्नुपर्दछ ।

कोरोना संक्रमितको संख्या हेर्दा होम आइसोलेशनमा नराखी यसलाई व्यवस्थापन गर्न असम्भव जस्तै छ । यतिबेला होम आइसोलेशन र सरकारले तोकेको आइसोलेशन केन्द्रमा सरकारी निकायको अनुगमन न्युन छ । होम आइसोलेशनमा बसिरहेका व्यक्तिले के गर्ने ? के नगर्ने ? भन्ने बारे उनीहरुलाई सामान्य ज्ञान समेत छैन । सरकारी निकायले यस्ता कुरामा थप चासो दिनुपर्ने देखिन्छ ।

साथै होम आइसोलेशनमा बस्ने व्यक्तिको उपचार पाउने प्रक्रिया र घरमा भएका अन्य सदस्यलाई संक्रमण हुनबाट जोगाउने प्रक्रियामा थप बल पुर्याउनुपर्ने देखिन्छ । यसकालागि सरकारले सुचना, प्रचारप्रसार र जानकारीमुलक कार्यक्रमहरु सञ्चालनमा ल्याउनुपर्दछ । साथै स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी बढाउनुपर्दछ ।

होम आइसोलेशनमा कसरी बस्ने ?
होम आइसोलेशनमा बस्दा संक्रमित व्यक्ति र परिवारका सदस्यहरुको बिचमा दुरी कायम हुनुपर्छ । संक्रमित व्यक्तिका लागि एउटा छुट्टै कोठा र शौचालय हुनुपर्छ । यदि यो अवस्था नभएको खण्डमा कम्तिमा ६ फिटको दुरी कायम गरेर बस्नुपर्ने हुन्छ । मास्क अनिवार्य लगाउनुपर्दछ । शौचालयको प्रयोग गरेपछि त्यसलाई स्यानिटाइज गर्नुपर्छ । संक्रमितले छोएका ठाउँ, धारा राम्रोसँग सफा गर्नुपर्दछ ।

परिवारको भुमिका
परिवारका सदस्यले होम आइसोलेशनमा बस्ने ब्यक्तिको आत्मबल बढाउनुपर्दछ । बेलाबेलामा फोन, भाइबर र म्यासेन्जरमार्फत कुराकानी गरिराख्नुपर्दछ । साथै उसको खानपानमा विशेष हेरविचार गर्नुपर्दछ । पोषणयुक्त खानेकुरा बनाएर खुवाउनुपर्दछ । चिल्लो गुलियोपदार्थ भन्दा प्रोटिनयुक्त गेडागुडी, हरियो सागसब्जी र फलफुल खुवाउनुपर्दछ । दिनको ३ पटक खाना र खाजा उसको कोठाको ढोकासम्म पुर्याइदिनुपर्दछ ।

नि–संक्रमण विधि
यदि संक्रमित बस्ने कोठा भित्रै बाथरुम भएको खण्डमा उसले खाएको भाँडा आफैले माझ्न पनि सक्छ । यदि बाथरुम नभए संक्रमितले खाएको भाँडा सफा गर्ने व्यक्तिले हातमा पञ्जा र मास्क लगाउनुपर्दछ । भाँडा सफा गरिसकेपछि त्यसलाई  केहि समय तातोपानीमा राख्नुपर्दछ । तातोपनीबाट निकालेर घाममा सुकाइदियो भने अन्य व्यक्तिमा सर्न पाउँदैन । भाँडा माझ्दा प्रयोग भएका पञ्जा र मास्कलाई जथाभावी फाल्नु भने हुँदैन । यसलाई सुरक्षित तरिकाले फाल्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्