Logo
|
Friday 29th March 2024
Logo

epaper

नुवाकोटमा कात्तिक २६ गतेदेखि निषेधाज्ञा, देउसीभैलो खेल्न नपाइने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नुवाकोटमा यस वर्ष देउसीभैलो खेल्न नपाइने भएको छ । कोरोना सङ्क्रमण फैलिने डरले यही कात्तिक २६ गतेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा गर्न लागिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । आइतबार बसेको जिल्ला सङ्कट व्यावस्थापन केन्द्रको बैठक सो निर्णय गरेको हो ।

कोरोना सङ्क्रमितले अस्पतालहरू भरिभराउ भइसकेको र आईसीयू तथा भेन्टिलेटर सेवा पर्याप्त नभएकाले रोग नियन्त्रणका लागि नुवाकोटमा २६ गतेदेखि लागू हुने गरी निषेधाज्ञा लागू गरिएकाले आदेश पालना गर्न सबैलाई प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले अपिल गर्नुभयो ।

जिल्लाको धार्मिक, सांस्कृतिक तथा समूहमा भेला भएर गरिने कार्यक्रमले रोगको जोखिम बढाउने भन्दै निषेधाज्ञा जारी गरिएकाले यो वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने प्रमुख जिल्ला अधिकारी ढकालले जारी गरेको आदेशमा भनिएको छ ।

निषेधाज्ञाको समयमा अहिलेको जस्तै दैनिकी सामान्यरूपमा चलाउन बजार क्षेत्र खुला राख्ने, गाडी सञ्चालन कायमै रहने छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भए–नभएको बारेमा जनप्रतिनिधिसहित प्रहरीको टोलीलाई अनुगमन गर्ने जिम्मेवारी दिइएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्