Logo
|
Tuesday 25th February 2025
Logo

epaper

कोभिड-१९ विरुद्ध अहिलेसम्मकै प्रभावकारी खोप तयार



जनस्वास्थ्य सरोकार, काठमाडौँ । अमेरिकामा अहिलेसम्मकै सबैभन्दा प्रभावकारी कोरोना भाइरसविरुद्धको भ्याक्सिन तयार भएको छ। कोभिड-१९ विरुद्धको एउटा खोप ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको एक प्रारम्भिक विश्लेषणले देखाएको छ।

फाइजर र बायोएनटेक दुइ कम्पनी मिलेर यो खोप तयार पारेका हुन । ६ मुलुकका ४३ हजार ५ सय मानिसमा यो खोपको परीक्षण गर्दा कुनै समस्या नआएको बताइएको छ ।

तीन साताको अन्तरमा दुई पटक खोप लगाइएको अनुसन्धान रिपोर्टमा उल्लेख छ। यसको परीक्षण अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएको थियो। दोस्रो खोप लिएको ७ दिनपछि ९० प्रतिशत मानिसलाई कोभिड-१९ बाट यसले सुरक्षित राखेको देखियो। यसको अझै पूर्ण रिपोर्ट आइसकेको छैन। त्यो पूरै आउँदा तथ्याङ्कमा केही फेर बदल हुनसक्ने बताइएको छ।

फाइजर र बायोएनटेकको खोपमा प्रयोगात्मक प्रक्रिया अपनाएर मानव शरीरको रोग प्रतिरोधी क्षमतालाई कोरोनाभाइरसविरूद्ध लड्न अभ्यस्त तुल्याउन भाइरसको जेनेटिक कोडको एक भागलाई सुई मार्फत शरीरमा प्रवेश गराउने विधि स‌ंलग्न छ।

फाइजरले यो वर्षको अन्त्यसम्ममा पाँच करोड खोप उपलब्ध गराउन सक्ने र सन् २०२१ को अन्त्यसम्ममा एक अर्ब ३० करोड मात्रा खोप आपूर्ति गर्न सक्ने बताएको छ।

तर, खोप आए पनि आगामी दिन अझै कठिन रहेको विज्ञहरुको भनाइ छ। खोपको उपलब्धीबारे सबैले स्वागत गरेको भए पनि अक्सफोर्ड विश्वविद्यलयका मेडिसिन विभागका प्राध्यापक कर जोन बेलले सुन्दामा सुखद् खबर भए पनि चुनौती कायमै रहेको बताउँछन्।

यस वर्ष थोरै संख्यामा मात्र मानिसहरुले यो खोप पाउने छन्। पीफाइजर र बायोएनटैकले नोभेम्बर तेस्रो सातासम्म पूर्ण रुपमा यो खोप सुरक्षित रहेको तथ्याङ्क आउने जनाएको छ। त्यसबाहेक यो खोपले मान्यता नपाउन्जेल यसलाई प्रयोगमा ल्याउन मिल्दैन।

 

प्रतिक्रिया दिनुहोस्