मोडर्नाको खोप ९४.५ प्रतिशत प्रभावकारी: नेपालजस्ता मुलुक बढी आशावादी, यस्ता छन् कारण
जनस्वास्थ्य सरोकार, काठमाडौँ । अमेरिकाको बायोटेक्नोलोजी कम्पनी मोडर्नाले बनाएको खोपको प्रभावकारिता ९४.५ प्रतिशत देखिएपछि उत्साह बढेको छ ।
‘एम आरएनए–१२७३’ नाम दिइएको उक्त खोप २ देखि ८ डिग्री सेल्सियसमा ३० दिनसम्म र कोठाको तापक्रममा २४ घण्टासम्म सुरक्षित राख्न सकिने अधिकारीहरुले दाबी गरेका छन । कोभिड-१९ का लागि हालसम्म दाबी गरिएको यो सबैभन्दा प्रभावकारी खोप हो ।
फाइजर कम्पनीले आफुले तयार गरेको खोप ९० प्रतिशत प्रभावकारी भएको दाबी गरेको छ । तर त्यसलाई माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने फाइजरले जनाएको छ । कम्पनीका अनुसार उक्त खोप सामान्य फ्रिजमा ५ दिनसम्म मात्र सुरक्षित रहन सक्दछ ।
त्यस्तै रुसले निर्माण गरेको ‘स्पुतनिक–५’ खोप ९२ प्रतिशत प्रभावकारी रहेको बताएको छ ।
मोडर्ना खोपको प्रभावकारिता ९४.५ प्रतिशत भएकाले मात्र होइन, २ देखि ८ डिग्री सेल्सियसमा ३० दिनसम्म र कोठाको तापक्रममा २४ घण्टासम्म सुरक्षित राख्न सकिने भनिएकाले नेपालजस्ता मुलुक बढी आशावादी भएका छन् ।
खोपलाई माइनस २० डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म सुरक्षित राख्न सकिने मोडर्नाको विज्ञप्तिमा उल्लेख गरिएको छ । आउँदो साता अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) सँग मोडर्नाले खोपका लागि आपत्कालीन प्रयोगका लागि अनुमति माग्ने योजना बनाएको छ ।
मोडर्ना खोप अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थको सहयोगमा निर्माण गरिएको हो । कम्पनीका अनुसार यो खोप २८ दिनको अन्तरालमा दुई मात्रा दिइन्छ ।
यसले ‘म्यासेन्जर आरएनए’ को एउटा अणुको ‘सिन्थेटिक’ संस्करण उपयोग गर्छ । यसले कोषिकाहरूलाई ‘ह्याक’ गरेर तिनीहरूलाई प्रभावकारी रूपले खोप बनाउने कारखानामा परिणत गर्छ ।
विभिन्न मिडिया रिपोर्टका अनुसार २०२० को अन्त्यसम्म अमेरिकाका लागि मोडर्ना खोपको २ करोड मात्रा उत्पादन हुनेछ । आगामी वर्षसम्म विश्वमा ५० करोडदेखि १ अर्बसम्मको परिमाणमा खोप बनाउने योजना छ ।
यस्तै, सबै कुरा योजनाअनुसार भइरहे बायोएनटेकसँग मिलेर तयार गरिएको फाइजरले तयार गरेको वर्षमा १.३ अर्ब मात्रा उत्पादन गर्ने गरिएको छ ।
अमेरिकाको नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सस डिजिज (एनआईएआईडी) का निर्देशक डा. एन्थनी फौसीको अनुमानअनुसार डिसेम्बरको अन्त्यसम्म मोडर्ना र फाइजरको खोप अमेरिकाको उच्च जोखिम समूहका लागि उपलब्ध हुनेछ ।
एनआईएआईडीले सोमबार जारी गरेको विज्ञप्तिअनुसार मोडर्नाको खोप कोभिड–१९ को लक्षण भएका वयस्कहरूमा सुरक्षित र प्रभावकारी देखिएको छ ।