विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि हुम्लाका शैक्षिक संस्था पुनः बन्द
जनस्वास्थ्य सरोकार, हुम्ला । विद्यार्थीहरुमा कोरोना संक्रमण देखिएपछि हुम्लाका शैक्षिक संस्था पुनः बन्द गरिएको छ । उत्तरी नाम्खा गाउँपालिकाको याल्वाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालयमा ५१ विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्लाभरका शैक्षिक संस्था आजदेखि बन्द गरिएको हो ।
बुधबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले आजदेखि जिल्लाभर शैक्षिक संस्था बन्द गर्नुका साथै जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा जाँचमा कडाइ गरिने निर्णय गरेको छ ।
कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै मङ्सिर ४ गतेदेखि जिल्लाका सातवटै स्थानीय तहमा रहेका सबै शैक्षिक संस्थामा अर्को व्यवस्था नहुँदासम्मका लागि पठनपाठन बन्द गरिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकले नाम्खा र सिमकोट गाउँपालिकामा आवतजावतमा तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । उत्तरी नाम्खा गाउँपालिकामा पाँच दिनको अवधिमा ५६ कोरोना सङ्क्रमित भेटिएपछि जिल्ला कोभिड–१९ व्यवस्थापन समिति तातिएको छ ।
नाम्खा गाउँपालिकामा कोरोना सङ्क्रमणको दर बढ्दो क्रममा रहेकाले यसको नियन्त्रण तथा रोकथाममा लागि स्वास्थ्य सेवा कार्यालय हुम्लाले जिल्लाका सातवटै स्थानीय तहसँग समन्वय गरेर परीक्षणको दायरालाई बढाउनुका साथै भीडभाड बढी हुने र सम्पर्कमा आउने व्यक्तिलाई प्राथमिकताका साथ परीक्षण गर्ने भएको हो ।
कोरोना लक्षणसहित सिकिस्त बिरामीलाई सुविधायुक्त अस्पतालसम्म पुर्याउनका लागि कर्णाली प्रदेश सरकारलाई हेलिकप्टरको व्यवस्थाका लागि आग्रह गरिने भएको प्रजिअ गिरीले जानकारी दिनुभयो ।