Logo
|
Friday 26th April 2024
Logo

epaper

विदेश यात्रा गर्ने यात्रुहरुको पीसीआर रिपोर्ट छानवीन गर्न समिति गठन



जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश उडानमा यात्रा गर्ने यात्रुहरुको पीसीआर टेष्ट रिपोर्ट सम्बन्धमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी डा. मुकुन्दा शर्माको नेतृत्वमा बिहीबार (मंसिर ४ गते) तीन सदस्यीय छानवीन समिति गठन गरेको छ ।
समितिको सदस्यमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. अमृत पोखरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ल्याब विज्ञ बलराम गौतम रहेका छन् ।

मन्त्रालयले समितिलाई २४ घण्टाभित्र छानवीन गरी सत्य तथ्य प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

 

नेपाल सरकारबाट स्वीकृत प्राप्त केही प्रयोगशालाहरुले स्वाव कलेक्सन नै नगरी नक्कली रिपोर्ट दिने गरेको, स्वाव कलेक्सन पश्चात् पनि रिपोर्ट म्यानिपुलेसन गरी पोजेटिभ रिपोर्ट दिने गरेको, स्वाव कलेक्सन पश्चात् निर्धारित समयसम्म भण्डारण गरेनगरेको र कोभिड १९ आरटी पीसीआर परीक्षणलाई थप विश्वसनीय बनाउनुपर्ने सम्बन्धमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्र र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई गत कात्तिक २८ गते पठाएको पत्रका आधारमा छानबीन समिति गठन गरिएको हो ।

नेपाल वायुसेवा निगमका हरेक नियमित उडानमा नेपाल सरकारबाट स्वीकृति प्राप्त प्रयोगशालामा परीक्षण गरेर नेगेटिभ आरटी पिसीआर रिपोर्ट साथमा लिएर गएका यात्रुहरुमध्ये निगमको २ अक्टोबर २०२० का दिन सञ्चालन भएको काठमाडौं हङकङ नियमित उडानमा हङकङ स्वास्थ्य विभागबाट पुनः कोभिड १९ परीक्षण गरेकोमा ५ जना, १९ अक्टोबर २०२० मा सञ्चालित काठमाडौं हङकङ उडानमा ९ जना यात्रुहरुमा पुन कोभिड पोजेटिभ देखिएको कारण उल्लेख गर्दै तेस्रोपटक १२ नोभेम्बर २०२० देखि २५ नोभेम्बर २०२० सम्म निगमको काठमाडौं हङकङ उडान अवतरण अनुमति स्थगन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्