Logo
|
Saturday 20th April 2024
Logo

epaper

चिसो मौसममा कोरोना संक्रमणबाट कसरी जोगिने ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । केहि दिन यतादेखि काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा चिसो बढेको छ । चिसो मौसममा विभिन्न भाइरसहरु सक्रिय हुने गरेको चिकित्सकहरु बताउँछन् ।

यो मौसममा रुघाखोकी लाग्ने, ज्वरो आउने, जीउ दुख्ने, स्वास फेर्न कठिन हुने जस्ता समस्या धेरैलाई हुने गरेको छ ।अहिले कोरोना भाइरसको महामारीले विश्वलाई नै आक्रान्त पारिरहेका बेला चिसो मौसममा थप जोखिम निम्त्याउने त होइन भन्ने चिन्ता कतिपयले गर्ने गरेका छन् । तर कोरोना भाइरस चिसो मौसममा थप सक्रिय हुने गरेको प्रमाण भने फेला परेको छैन ।

कोरोना भाइरसका बारेमा अध्ययनहरु भइरहेकाले अहिले नै चिसो मौसममा बढी सक्रिय हुन्छ भनेर यकिन गर्न नसकिने त्रिवि. शिक्षण अस्पतालका आइसियू विशेषज्ञ डा. हेमराज पनेरु बताउनुहुन्छ । तर, अन्य भाइरस भने चिसो मौसममा बढी समयसम्म बाँच्ने सक्ने भएकाले सावधानी अपनाउनुपर्ने उहाँको भनाई छ ।

हावाका माध्यमबाट सर्ने भाइरस चिसो समयमा बढी सक्रिय हुन्छन । उहाँ भन्नुहुन्छ –‘चिसो मौसममा तापक्रम निकै घट्ने भएकाले यस्ता भाइरस धेरै समयसम्म जिवित रहने र संक्रमण फैलिन सक्ने जोखिम रहन्छ ।’ तर कोरोना हावाका माध्यमबाट भन्दा नाक वा मुखबाट निस्किएका छिटाका माध्यमबाट सर्ने गर्दछ ।

अहिले चिसो मौसम भएकाले कोरोना भाइरसको संक्रमण पनि वृद्धि हुँदै जाने सम्भावना भने रहेको विज्ञहरु बताउँछन । चिसो मौसममा मानिसहरु घरका झ्यालढोका बन्द गरेर बस्ने गर्दछन् । यसरी झ्यालढोका बन्दा गरिँदा हावा गुम्सिएर कोठाभित्रै धेरै समयसम्म रहन सक्छ । यस्तो अवस्थामा कोठामा धेरै जना वस्दा संक्रमण फैलिने जोखिम उच्च हुने डा. पनेरुले बताउनुभयो । यस्तो अवस्थामा पर्याप्त सावधानी अपनाउनुपर्ने उहाँको भनाइ छ ।

कोरोना भाइरसका बारेमा अध्ययन भइरहेकाले अहिले नै मौसम अनुसार यसको संक्रमण दर घट्छ वा बढ्छ भनेर भन्ने सक्ने अवस्था छैन । त्यही भएर जनस्वास्थ्यका मापदण्डको पालना गर्नुको विकल्प छैन ।

कोरोनाको महामारी तत्कालै अन्त्य हुने सम्भावना देखिएको छैन । यस्तो अवस्थामा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै अझ बढी सावधानी अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन ।

चिकित्सकहरुले भने जस्तै स्वास्थ्य मापदण्डको पालना गर्न सकिए जुनसुकै मौसम भए पनि कोरोनाको संक्रमणबाट बच्न सहयोग पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्