Logo
|
Thursday 18th April 2024
Logo

epaper

नेपालमा कोभिडविरुद्ध भ्याक्सिनः परीक्षण प्रमाणीत हुनेवित्तिकै

भ्याक्सिन ल्याउन द्रुत कार्ययोजना, कुटनीतिक प्रयासपनि



जनस्वास्थ्य सरोकार, काठमाडौं । कोभिड–१९ ले विश्व आक्रान्त बनिरहेको बेला अहिले विभिन्न देशहरु भ्याक्सिन बनाउन आतुर छन् । हालसम्म कुनैपनि भ्याक्सिन प्रयोगका लागि प्रमाणीत त भएका छैनन् । तर, परीक्षणको अन्तिम चरणमा छन् ।


नेपालले पनि जुन भ्याक्सिन पहिले प्रमाणीत हुन्छ त्यहि ल्याउने योजनाका साथ अघि बढेको छ । कुल जनसंख्याको ७२ प्रतिशत नागरीकले भ्याक्सिन उपलब्ध गराउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रणनीतिक योजना अघि बढाएको छ । बाँकि २८ प्रतिशत बालबालीकाको जनसंख्या रहेकाले उनीहरुको लागि आवश्यक पर्ने भ्याक्सिन अझै परीक्षण गरीएको छैन ।


स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार भ्याक्सिन ल्याउनका लागि द्रुत कार्ययोजना बनाइएको छ । कोरोना भाइरसविरुद्धको खोप व्यवस्थापनका लागि द्रुत कार्य योजना पारित भएको छ । यस्तै, नेपालभित्र भ्याक्सिन ल्याइसकेपछि त्यसको व्यवस्थापन लगायतका कामहरु सन्दर्भमा समितिहरु समेत गठन गरीएका छन् ।


खोप आयात, भण्डारण, खोप लगाउने लगायतका काम व्यवस्थापन गर्न समितिलाई अख्तियारी दिइएको छ । द्रुत कार्य योजना अनुसार कोरोना भारसविरुद्ध भ्याक्सिनको व्यवस्थापनका लागि आठवटा क्षेत्र पहिचान गरी समिति गठन गरिएको छ ।


खोप व्यवस्थापनका लागि स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहको संयोजकत्वमा सचिवालय गठन गरीएको छ । यस्तै, बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा. श्यामराज उप्रेतीको संयोजकत्वमा खोप व्यवस्थापन प्राविधिक तयारी समिति, स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक चूडामणि भण्डारीको संयोजकत्वमा पूर्वाधार विश्लेषण तथा आवश्यकताको आकलन गर्ने समिति बनाइएको छ ।

यस्तै, स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. विकास देवकोटालाई खोपको अनुगमन नियमन, अनुसन्धान तथा क्लिनिकल व्यवस्थापन गर्न जिम्मेवारी दिइएको छ । मन्त्रालयका नीति योजना अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीलाई खोप कोष सञ्चालन समिति र सार्वजनिक सूचना प्रभाव संयोजक तोकिएको छ ।


स्वास्थ्य सेवा विभाग अन्तर्गत् उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलको संयोजकत्वमा खोपको प्राथमिकता निर्धारण गर्न समिति बनाएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. भीमसिंह तिंकरीको संयोजकत्वमा परिचालन योजना समिति गठन गरीएको छ ।


नेपालमा कुल जनसंख्याको ७२ प्रतिशतलाई लगाईने भ्याक्सिनमध्ये कोभ्याक्स फ्यासिलिटीमार्फत २० र बाँकी सरकारले आफैं खरिद गर्ने छ । त्यसका लागि ४८ अर्ब रुपैयाँ बराबरको खर्च लाग्ने प्रारम्भिक अनुमान छ ।


पहिलो चरणमा २० प्रतिशत भ्याक्सिन निशुल्क आउन बताइएको छ । प्राथमिकताका आधारमा भ्याक्सिन दिईने स्वास्थ्य सेवा विभाग अन्तर्गत् तत्कालीन बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा. श्यामराज उप्रेतीले बताउनुभयो । अमेरीकामा उत्पादन भएको फाईजरको खोप आउने सम्भावना न्यून रहेको छ ।


खोप भण्डार गर्ने माइनस ७० डिग्री सेल्सियसको कोल्ड चेन नेपालमा नभएका कारण फाइजरको खोप आउने सम्भावना न्यून रहेको बताइएको छ ।
हाल नेपालमा दिइने खोपहरु २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गरिदैं आएको छ । हाल सरकारले माइनस २० डिग्री सेल्सियससम्म तापक्रममा भण्डारण गर्नुपर्ने खोपको लागि तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्