Logo
|
Thursday 25th April 2024
Logo

epaper

कोरोना जोखिम निम्त्याउँदै आम नागरिक



जनस्वास्थ्य सरोकार, काठमाडौं । अहिले दैनिकजसो जुलुस, सभा, गोष्ठी भइरहेका छन् । राजनितिक दलदेखि गैरसरकारी संस्था र अन्य निकायहरुले भौतिक उपस्थितिमै आफ्ना गतिविधि अघि बढाएका छन् ।


यस्तै, सार्वजनिक सवारी साधनमा यात्रा गर्दा भिडभाँडनै देखिन्छ । शैक्षिक गतिविधिहरु समेत प्रत्यक्ष उपस्थितिमै हुन थालेका छन् । कोरोना जोखिम भने अझै टरेको छैन । हालसम्म देशभर संक्रमितको संख्या दुई लाख ४० हजार नाघेको छ भने मृतकको संख्या झण्डै एक हजार ६ सय पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना जोखिमलाई मध्येनजर गर्दै जनस्वास्थ्यका मापदण्डहरु जारी गरेपनि अधिकांश निकायबाट सो मापदण्ड उल्लघंन भएको पाइएको छ । आमनागरिकले जनस्वास्थ्यका न्यूनतम मापदण्डको पालना गरेका छैनन् ।

स्वास्थ्य मन्त्रालयले कोभिड-१९ को महामारी र व्यवस्थित बन्दाबन्दीमा जनस्वास्थ्यका मापदण्ड २०७७ जारी गरे पनि अधिकांश बुँदाहरू कार्यान्वयनमा आम नागरिकहरू जिम्मेवार नबनेको देखिएको हो । मापदण्डमा अत्यावश्यकिय बुँदाअन्तर्गत सबै किसिमका जमघट र भेलामा कम्तीमा दुई मिटरको दुरी कायम गर्ने उल्लेख छ ।


यस्तै, घर बाहिर जाँदा मास्क (सर्जिकल वा तीन तहको कपडाको मास्क) को प्रयोग अनिवार्य रूपले गर्ने गरी मापदण्ड तोकिएको छ । मापदण्डमा सबै सार्वजनिक स्थल तथा कार्यालयहरूले आफ्नो परिसरमा हात धुने साबुन र पानी वा स्यानिटाइजरको अनिवार्य व्यवस्था मिलाउने उल्लेख छ ।

यस्तै, अनावश्यक वस्तु वा सतहहरू नछुने, नाक, मुख र आँखा अनावश्यक रूपमा नछुने, सार्वजनिक स्थलमा जथाभावी नथुक्ने, सम्भव भएसम्म पैसाको कारोवार गर्दा विद्युतीय कारोबार गर्नुपर्ने व्यवस्था जनस्वास्थ्य मापदण्ड २०७७ मा गरिएको छ ।


धेरै प्रयोग हुने चिजहरू (ढोका, मेसिनका ह्यान्डल, टेबल) डिसइन्फेक्टेन्ट प्रयोग गरी नियमित सफा गर्ने उल्लेख छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण दर रोक्न स्वयं व्यक्ति सचेत र सतर्क हुनुपर्ने बताउनुभयो ।


सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले जोखिमबाट बच्न स्वयम् व्यक्ति आत्मानुशासीत हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आत्मानुशासन महत्वपूर्ण कुरा हो । जोखिम टरेको भन्दै ख्याल ठट्टा गर्नुहुँदैन । ’

प्रतिक्रिया दिनुहोस्