Logo
|
Friday 19th April 2024
Logo

epaper

कोरोना संक्रमणमुक्त हुने दर बढ्दो क्रममा



जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो केहिदिनयता कोरोना भाइरस संक्रमणमुक्त हुने दर बढ्दो क्रममा रहेको पाइएको छ । संक्रमितको तुलनामा संक्रमणमुक्त हुने व्यक्तिको संख्या बढ्दै गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस व्रिफीङमा संक्रमणमुक्त हुने दर बढ्दो क्रममा रहेको देखिएको छ ।

पछिल्लो एक हप्तालाई आधार मान्दा सात हजार चार सय ४२ संक्रमित थपिएकोमा नौ हजार दुइ सय २६ जना संक्रमणमुक्त भएका छन् । जसमा ४६ हजार पाँच सय २२ जनाको कोरोना परीक्षण गरीएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत सोमबार एक हजार १४ जना संक्रमित थपिएकोमा एक हजार ६ सय २८ जना संक्रमणमुक्त भएका छन् ।

मंगलबार एक हजार तीन सय ८२ संक्रमित मध्ये एक हजार ६ सय २१ जना संक्रमणमुक्त, बुधबार एक हजार ५६ संक्रमित थपिएका मध्ये एक हजार चार सय ८३ जना संक्रमणमुक्त भएका छन् । यस्तै, विहीवार एक हजार दुई सय १७ जना संक्रमित मध्ये एक हजार ६४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शुक्रवार एक हजार ४४ संक्रमित थपिएकोमा एक हजार दुइ सय ७१ जना संक्रमणमुक्त भएका छन् । शनीवार आठ सय ९९ संक्रमित थपिएकोमा एक हजार तीन सय ५९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । हिजो आइतवार आठ सय ३० जना संक्रमित थपिएका छन् भने एक हजार पाँच सय जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म देशभर दुई लाख ४८ हजार चार सय १३ संक्रमित मध्ये दुई लाख ३५ हजार सात सय ३१ जना संक्रमणमुक्त भएका छन् । कुल संक्रमणमुक्त हुने दर ९४ दशमलब ६० रहेको छ । नेपालमा हालसम्म कुल संक्रमित मध्ये १० हजार नौ सय ९४ जना सकृय संक्रमित रहेका छन् ।

यस्तै, आइतवार थप नौ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार ६ सय ९८ पुगेको छ । पछिल्लो एक हप्तालाई आधार मान्दा दैनिक ६ हजार ६ सय ४६ जनाको कोरोना परीक्षण गर्दा एक हजार ६३ जनामा संक्रमण देखिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्