Logo
|
Saturday 4th May 2024
Logo

epaper

भ्याक्सिन नै कोरोना रोकथामको अचुक औषधि होइन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा अहिले कोरोना संक्रमणदर घटेको जस्तो देखिएपनि स्थिती नियन्त्रणमा अझै आएको छैन । अहिले जताततै सभा, गोष्ठी र जुलुसहरु भइरहेको देख्न सकिन्छ । मानिसहरुले हेलचेक्र्याइ गरिरहेका छन् । हेलचेक्रयाइले संक्रमणको जोखिमलाई झनै बढाएको छ । यतिबेला भाइरस सहजै फैलिने वातावरण बनेको छ ।

जनस्वास्थ्य मापदण्ड पालना गनुपर्छ भन्ने त सबैलाई थाहा छ तर व्यवहारमा लागू गरेको देखिदैँन । विदेशमा यसरी नै मानिसहरु जमघट भएको बेला धेरैलाई संक्रमण सरेको उदाहरण प्रशस्तै छन् । अहिले पनि नेपालमा दिनहुँ कोरोनाबाट मानिसले ज्यान गुमाइरहेका छन् । कोरोना संक्रमणले छातीमा गम्भिर असर परेर, कोभिड निमोनिया भई बिरामीहरु अस्पताल आउँछन् । यस्तो अवस्थामा जुलुस, सभा र जमघटलाई पुर्णरुपमा निरुत्साहित गर्नुपर्छ । तर जनस्वास्थ्यका मापदण्डलाई व्यवहारमा पालना गर्ने कि नगर्ने ? यतिबेला प्रश्न चिन्ह खडा भएको छ ।

विशेषगरी कोरोना भाइरस एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने भएकाले अनिवार्य भौतिक दुरी कायम गर्नुपर्छ । सहि तरिकाले मास्क लगाउने र नियमित साबुनपानीले हात धुने गरे कोरोना संक्रमण जोखिमलाई न्युनिकरण गर्न सकिन्छ ।

जहाँसम्म भ्याक्सिनको कुरा छ, भ्याक्सिननै कोरोनाको अचुक औषधि बन्ने सम्बन्धमा मलाई शंका लागेको छ । हो, भ्याक्सिनले धेरै हदसम्म मानिसको ज्यान बचाउन सकिन्छ । खोप लगाएका मानिसलाई कोभिडका कडा लक्षण नदेखिन सक्छन् । तर, खोपले जादुको छडिले जस्तो एकैचोटी ठिक गर्न सक्दैन । उदाहरणका लागी, फ्लु विरुद्धको खोप बनेको वर्षौ भइसक्यो । मानिसहरु अहिलेपनि खोप लगाउछन् । तर, फ्लुको खोप उपलब्ध हुँदा पनि अमेरिका जस्तो विकसित मुुलुकमा फ्लुसँग सम्बन्धित जटिल समस्याले वर्षमा ५० हजार बढी मानिसको मृत्यु हुने तथ्याङ्कले देखाउँछ ।

विदेशमा प्रभावकारी देखिएको भ्याक्सिन नेपाल ल्याउदा त्यतिकै प्रभावकारी नदेखिन पनि सक्छ । भौगोलिक वनावट, रहनसहन, हावापानी फरक छ । यद्यपी इन्डियामा प्रभावकारी देखिएको भ्याक्सिन नेपालका लागी उपयुक्त हुन सक्छ ।

भ्याक्सिन आउनेवित्तिकै खुुसी भैहाल्ने अवस्था छैन । अहिलेको भ्याक्सिन केहि हजार व्यक्तिमा मात्र परीक्षण भएका छन । भोली करोडौँ मानिसलाई लगाउँदा यसको प्रभावकारीता घट्न सक्छ । ठाउँ अनुसार भ्याक्सिनको प्रभाव फरक हुने विगतका भ्याक्सिनले देखाएको छ ।

दक्षिण एसियामा भ्याक्सिनको ट्रायल खासै भएको छैन । ब्राजिलल सबैभन्दा बढीे ट्रायल गरेको छ । चीन र रुसले आफ्नै देशमा ट्रायल गरे । अहिलेसम्म नेपालमा कुनै पनि ट्रायल नभएको हुँदा यो भ्याक्सिनको प्रभावकारीता कस्तो रहन्छ यसै भन्न सकिन्छ । नेपालमा कुनैपनि भ्याक्सिन ल्याउनुलाई मैले ट्रायल रुपमा बुझेको छु । भ्याक्सिन आइहालेमा यसले मृत्युको मुखबाट बचाउँछ । (डा.पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्