Logo
|
Friday 26th April 2024
Logo

epaper

नेपालमा कोरोना संक्रमण मृत्युदर बढ्दै

कुल संक्रमित मध्ये ०.७० को मृत्यु




जनस्वास्थ्य सरोकार, काठमाडौं ।
देशभर कोरोना भाइरस संक्रमितको संख्या घटेको देखिएपनि मृत्युदर बढेको छ । हाल देशभर कोरोना संक्रमणबाट कुल संक्रमित मध्ये ० दशमलब ७० प्रतिशको मृत्यु भएको छ । अहिलेसम्म दुइ लाख ५४ हजार पाँच सय १४ जना संक्रमित मध्ये एक हजार सात सय ९५ जनाको मृत्यु भएको छ ।

संक्रमण पुष्टि भएका मध्ये हरेक दिन एघार जनाको मृत्यु हुने गरेको छ । पछिल्लो सात दिनको अवधिमा ७९ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत मंगलबार १४, बुधबार १३, विहिवार ६, शुक्रवार १६, शनिवार १२, आइतवार ११ र हिजो सोमवार ७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार सात सय ९५ पुगेको छ ।

प्रत्येक सात जनाको कोरोना परीक्षण गर्दा एक जनामा संक्रमण देखिने गरेको छ । पछिल्लो एक हप्तामा ४० हजार सात सय ७१ जनाको कोरोना परीक्षण गर्दा पाँच हजार दुइ सय ७० जनामा संक्रमण देखिएको छ । यस्तै, कोरोना भाइरस परीक्षण दर क्रमिक रुपमा घट्दै गएको छ । पछिल्लो एक हप्तालाई आधार मान्दा दैनिक पाँच हजार आठ सय २४ जनाको कोरोना परीक्षण हुने गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ६ हजार तीन सय ५१ जनाको कोरोना परीक्षण गरीएको छ । कोरोना परीक्षण घटेसंगै संक्रमितको संख्या पनि कम देखिदैं आएको छ ।
पछिल्लो सात दिनको अवधिमा ४० हजार सात सय ७१ जनाको कोरोना परीक्षण गरीएको छ । जसमा गत मंगलबार सात हजार एक सय १७, बुधबार पाँच हजार पाँच सय ५५, विहिवार ६ हजार पाँच सय ८८, शुक्रवार पाँच हजार सात सय ६, शनिवार चार हजार सात सय ८०, आइतवार चार हजार ६ सय २० जना, सोमबार ६ हजार तीन सय ५१ जनाको कोरोना परीक्षण गरीएको थियो । हालसम्म पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ७७ हजार एक सय ८१ पुगेको छ ।

सोमबार देशभर सात हजार नौ सय ७६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभयो । देशभर सोमबार सात सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या दुइ लाख ५४ हजार पाँच सय १४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल ४ सय २१ जना क्वारेन्टाइनमा छन् । सोमबार एक हजार ७९ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै संक्रमणमुक्त हुनेको संख्या दुइ लाख ४४ हजार सात सय ४३ पुगेको छ ।

देशभर हाल तीन सय ३६ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । जसमध्ये दुइ सय ७९ जना आइसियु र ५७ जना भेन्टिलेटरमा रहेका छन् ।
प्रदेश एकमा २० आइसियु र चार भेन्टिलेटरमा, प्रदेश दुइमा सात आइसियु र चार भेन्टिलेटरमा, बागमती प्रदेशमा एक सय १२ आइसियु र ३२ भेन्टिलेटरमा, गण्डकीमा ८१ आइसियु र १० भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५० आइसियु र चार जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

कर्णाली प्रदेशमा पाँच जना आइसियु र तीन जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा चार जना आइसियुमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्