Logo
|
Friday 19th April 2024
Logo

epaper

स्वास्थ्यकर्मी सडक तताउँदै, पुस १२ गते माइतीघरमा मौन धर्ना



जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्यकर्मीहरुका माग सम्वोधनमा सरकार गम्भिर नभएको भन्दै नेपाल संयुक्त स्वास्थ्यकर्मी संघर्ष समितिले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पछिल्लो पटक एक हप्ता अल्टिमेटम दिएको संघर्ष समितिले माग सम्वोधन गर्न सरकार जिम्मेवार नभएको भन्दै आन्दोलन गर्ने भएको हो ।
चार साताको अवधिमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना मागमा कुनै चासो नदेखाएकाले बाध्य भएर आन्दोलनमा जानु परेको नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष तथा संघर्ष समितिका सहसंयोजक रामजी घिमिरेले बताउनुभयो ।

समितिले १२ पुसमा माइतीघरमा मौन धर्ना गर्दैछ । चिकित्सक, स्वास्थ्यकर्मी र नर्सहरुको १५ गते प्रदेश नम्बर एकमा र १७ गते गण्डकी प्रदेशमा भेला हुने कार्यक्रम समितिले तय गरेको छ । उहाँले पुस १७ गतेसम्म सातैवटा प्रदेशमा समिति गठन गरिसक्ने योजना रहेको बताउनुभयो ।

समितिले माग सुनुवाइका लागी मंसिर सात गते २१ दिनको अल्टिमेटम दिएको थियो । त्यसपछि सात दिनको समय थपेको थियो ।

संघर्ष समितिमा स्वास्थ्यसँगसम्बन्धित विभिन्न १९ वटा ट्रेड युनियन तथा संगठनले १८ वटा मुद्दा लिएर आन्दोलन अघि बढाएका छन् । कोरोनालगायत जनताका अन्य जटिल रोगका उपचार राज्यले निःशुल्क गर्नुपर्ने, आइसियु र भेन्टिलेटरलगायत उपकरणको संख्या बढाउनुपर्ने, कोरोनाको परीक्षण तथा उपचारको दायरा बढाउनुपर्ने, स्वास्थ्यकर्मीलाई दिइने भनिएको जोखिमभत्ता, बीमालगायतका सुविधा सहज तरिकाले उपलब्ध गराउनुपर्ने, निश्चित मापदण्डका आधारमा सबै स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनको व्यवस्था हुनुपर्ने स्वास्थ्यकर्मीको माग छ ।

प्रतिक्रिया दिनुहोस्