नवनियुक्त स्वास्थ्यमन्त्री भन्नुहुन्छ :आर्थिक अनुशासन कायम गर्न कसैसंग झुक्दिन
आगामी वर्ष २६२ स्थानिय तहमा आधारभुत अस्पताल पुर्याउने निर्णयमा हस्ताक्षर
जनस्वास्थ्य सरोकार, काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आर्थिक अनुशासन पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।
आइतबार स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले आर्थिक मितव्ययीयतामा कसैसंग सम्झौता नगर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो–‘ वितीय अनुशासन आफ्नो प्रमुख प्राथमिकता हो । यसमा मैले कसैसंगपनि सम्झौता गर्दिन । वित्तीय नुशासनहीनतालाई कुनै हालतमा क्षमा दिन सकिदैंन ।’
स्वास्थ्य मन्त्रालयको पदवहालीलगतै मातहतका उच्च अधिकारीलाई निर्देशन दिँदै त्रिपाठीले वितीय अनुशासनहीनतालाई कुनै हालतमा क्षमा दिन नसक्ने बताउनुभयो ।
उहाँले आफू काजमा आएपनि मन्त्रालयको कामकारबाहीलाई व्यवस्थित गर्न कटीबद्ध भएर लाग्ने बताउनुभयो । यस्तै स्वास्थ्य मन्त्रालयलाई बेरुजु फछर्यौट घटाउन तत्पर रहने उहाँको भनाई छ ।
स्वास्थ्य मन्त्री त्रिपाठीले आफ्नो कार्यकालमा कुनै पनि खरिद पारदर्शी हुने दावी गर्नुभयो । उहाँले भन्नुभयो- ‘मेरो कार्यकालमा यस्ता कुरामा सिग्नेचर त के, ओम पनि लेख्दिन, कसैलाई चोट परे परोस्, अप्ठ्यारो परे परोस निश्चिन्त रहनुहोस ।’
लिखित रुपमा आफ्ना समस्याहरु लेखेर पठाउन विभाग, अस्पताल एवं महाशाखाका पदाधिकारीलाई निर्देशन दिनुभयो । उहाँले आफ्नो निजी सचिवालयलाई झ्यालको संज्ञा दिँदै त्यो बनाउँने कुरामा कसैको हस्तक्षप नसहने र नस्वीकार्ने बताउनुभयो ।
यस्तै, स्वास्थ्य मन्त्री त्रीपाठीले पदभार ग्रहण गर्दै आगामी वर्ष २६२ वटा स्थानीय तहमा क्रमशः ५,१० र १५ शैयाका आधारभूत अस्पताल निर्माण गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको छ । त्रिपाठीले आइतवार दिउँसो २ बजे कार्यभार सम्हाल्नुभएको हो ।