Logo
|
Friday 19th April 2024
Logo

epaper

एक अमेरिकी चिकित्सक जसले क्यान्सर रोगीहरूको ६.५ लाख डलर मिनाहा गरे



जनस्वास्थ्य सरोकार, काठमाडौँ । एक अमेरिकी चिकित्सकले क्यान्सरबाट पीडित २०० बिरामीले तिर्नुपर्ने साढे छ लाख डलर बराबरको बिल मिनाहा गरिदिएका छन्।

उनले ती बिरामीहरूले उक्त रकम तिर्न सङ्घर्ष गरिरहेको थाहा पाएपछि रकम मिनाहा गरिदिएका हुन्।

डा. उमर अतिकले गत वर्ष झन्डै ३० वर्ष चलाएपछि अर्कान्ससस्थित आफ्नो क्यान्सर उपचार केन्द्र बन्द गरेका थिए।

उनले बक्यौता उठाउनका लागि एउटा असुली गर्ने कम्पनीसँग काम गरिरहेका थिए।

तर उनले महामारीका कारण कैयौँ परिवारले आर्थिक समस्या झेलिरहेको थाहा पाए।

क्रिसमसका अवसरमा उनले बिरामीहरूलाई पत्र लेख्दै उनीहरूको बक्यौता मिनाहा बताएका हुन्।

डा. अतिकले एबीसीको गुड मोर्निङ अमेरिका कार्यक्रममा भने, “मैले कतिपय मानिसहरूले रकम तिर्न नसक्ने थाहा पाएँ। त्यसैले परिवारका रूपमा म र मेरी श्रीमतीले यसबारे सोच्यौँ र सबै बक्यौता माफ गर्नेबारे सोच्यौँ। हामीले त्यो गर्नसक्छौँ भन्ने ठान्यौँ र माफ गरिदियौँ।”

उनी पाकिस्तानी मूलका हुन्। उनले अर्कान्ससमा सन् १९९१ मा क्यान्सर उपचार केन्द्र खोलेका थिए।

उनी अहिले अर्कान्सस विश्वविद्यालयको चिकित्सा विज्ञान सङ्कायमा प्राध्यापक छन्।

अर्कान्सस डेमोक्र्याट ग्याजेटले उनलाई उद्धृत गरेर लेखेको छ, “यसका लागि महामारीभन्दा अर्को उपयुक्त समय हुँदैन भन्ने हामीले ठान्यौँ।”

उनले क्रिसमसमा पठाइएको सन्देशमा बिरामीहरूलाई सम्बोधन गर्दै लेखेका थिए: “अर्कान्सस क्यान्सर क्लिनिक तपाईँलाई बिरामीका रूपमा सेवा गर्न पाउँदा गर्व गर्छ। यद्यपि विभिन्न खालका स्वास्थ्य बीमाहरूले अधिकांश बिरामीको बिल तिर्छन् तर पनि घट्ने रकम र थप तिर्नुपर्ने बक्यौता रहन सक्छ। दुर्भाग्यवश हाम्रो अहिलेको स्वास्थ्य प्रणालीले त्यसैगरी काम गर्छ। क्लिनिकले आफ्ना बिरामीहरूसँग रहेको बक्यौता माफ गर्ने निर्णय गरेको छ। बिदाको शुभकामना।”

उक्त क्लिनिकको बक्यौता उठाउन सहयोग गरिरहेको असुली गर्ने कम्पनीका अध्यक्षले डा. अतिकलाई “धेरै दयालु व्यक्ति” भनेका छन्। बीबीसी

प्रतिक्रिया दिनुहोस्