Logo
|
Friday 27th December 2024
Logo

epaper

बढ्दो वायु प्रदूषणले समग्र स्वास्थ्यमा पार्ने असर र जोगिने उपाय



यतिखेर हावामा धुवाँ, धुलोका कणहरू मिसिन गई समग्र वायुमण्डल नै प्रदूषित बनाएको छ । उपत्यकाभित्र बस्ने मानिसहरूको स्वास्थ्यमा दिन प्रतिदिन गम्भीर असर परिरहेको छ ।
हावामा भएका स—साना कणमध्ये १० पिएम देखि २.५ पिएम सम्मका धुवाँ धुलोका कणहरू नाक र घाँटीसम्म पुग्ने जसको कारण कालो खकार आउने र नाक टालिने समस्या बढ्दो छ ।
२.५ पिएम सम्मको धुवाँ धुलोका कणहरू फोक्सोमा जाने र सो कारणले मानिसलाई दम, खोकीलगायतका फोक्सोमा लाग्ने रोगहरू लाग्ने गर्दछन् । यसरी नै हावामा मिसिएका ०.५ पिएम भन्दा साना धुवाँ धुलोका कणहरू सोझै रक्त सञ्चारमा मिसिई मुटुमा पुग्छ र मुटुसम्बन्धी विभिन्न प्रकारका रोगबाट वर्षेनी ९,९४३ मानिसहरूको मृत्यु वायु प्रदूषणको कारण हुने गर्दछ भन्ने प्रतिवेदन विश्व स्वास्थ्य संगठनले (डब्लुएचओ) ले दिएको छ ।

यसरी नै विश्वमा वायु प्रदूषणले पार्ने असर हेर्दा ७२ प्रतिशत मुटु रोग, १४ प्रतिशत दमखोकी, १४ प्रतिशत विभिन्न प्रकारको क्यान्सरजस्तो भयावह रोगका कारण मृत्यु हुने भनी विश्व स्वास्थ्य संगठनले (डब्लुएचओ) को अपडेट २०१६ को प्रतिवेदनबाट देखिन्छ ।


यसै सन्दर्भमा जनस्वास्थ्य सरोकारले ह्याम्स हस्पिटलकी फोक्सो तथा क्रिटिकल केयर विशेषज्ञ डा. रक्षा पाण्डेसँग गरेको कुरानकानीको सारसंक्षेप ।
केही दिनदेखि बढेको वायु प्रदूषणले कोभिड र नभ कोभिड व्यक्तिहरुलाई कस्तो असर पार्नसक्छ ?
कोभिड नआउँदा पनि वायु प्रदूषणले धेरै मानिस मारिरहेका थिए । वायु प्रदूषण साइलेन्स किलर हो । वायुमा मिसिएका मसिना कण हामीले आँखाले देख्दैनौं । अहिले पो धुवाँ भयो भनेर हामी सबैजना सचेत भएका छौं । तर सफा मौसम देखिँदा पनि हाम्रो देशको राजधानी काठमाडौंमा वायु प्रदूषण दर एकदमै उच्च छ । विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड भन्दा ५—६ गुणा माथि पाइएको छ । यसले कोरोना नहुँदा पनि धेरैको ज्यान लिरहेको थियो ।

यो वर्षको तथ्यांक अनुसार, व्यक्ति मर्ने जोखिम कारकमध्ये चौथो स्थानमा वायुप्रदूण भएको छ । यसले मधुमेह र उच्चरक्तचापलाई पनि उछिनिसकेको छ । दमलगायतका दीर्घरोगीहरुमा वायु प्रदूषणले जोखिम गराएर ४० प्रतिशतको मृत्यु भएको देखाएको छ ।


हृदयघातलगायतका मुटुरोगको जोखिम २० प्रतिशतले बढेको पाइएको छ । यसैगरी वायुप्रदूषणले पक्षघात, मधुमेह,क्यान्सरको जोखिम बढाएको छ । नवजात शिशुको मृत्यु भइरहेको छ । वायु प्रदूषण बढेसँगै दीर्घरोग बढ्ने मौका धेरै हुन्छ । दीर्घ रोगीहरुमा कोभिडको असर अझ बढी हुन्छ । कडा कोभिड संक्रमित, दमका रोगी, पुरानो मुटुरोग, मधुमेह, क्यान्सर, इम्युनिटी कमजोर भएका व्यक्तिहरुमा बायु प्रदूषणको असर धेरै देखिएको छ ।
वायु प्रदूषणका कारण व्यक्तिको आयु पनि घटिरहेको छ । वायु प्रदूषण एकदमै कम भएका देशहरुमा जन्मेका बच्चाको तुलनामा नेपालको प्रदूणमा जन्मेको बच्चाको आयु १९ महिनाले कमी आएको देखाएको छ ।
वायु प्रदूषणले शरीरमा कसरी असर पुर्याउँछ ?
वायु प्रदूषण बढेमा हामी निसास्सिएर मर्ने होइन । यसले आँखा, चिलाउने, घाँटी खसखस गर्ने, हाछ्यू आउने, शरीर चिलाउनेजस्ता अल्पकालीन समस्या गराउँछ । वायुमा मिसिएका पिएम टू माइक्रोन धुलोका कणहरु हामी आँखाले देख्न सक्दैनौं ।

श्वासप्रश्वासको माध्यमबाट यो फोक्सोमा प्रवेश गर्छ र रगतको नलीको माध्यमबाट शरीरभर फैलिन्छ । यसको कारण दम, मुटुको रोग, मधुमेह, क्यान्सर, उच्चरक्तचाप बढ्न थाल्छ । गर्भमा रहेको बच्चा समयभन्दा अगावै जन्मिने, बच्चाको तौल कम हुने, बच्चाको फोक्सोको विकासमा असर गर्नेलगायतका समस्या देखिनसक्छ ।

प्रदूषण रोक्न राज्यले के गर्नुपर्ला ?
प्रदूषण रोक्न राज्य कडा रुपमा प्रस्तुत हुनुपर्छ । प्रदूषण रोक्ने नियमकानुन कागजी दस्तावेजमा भएर हुँदैन । यसलाई अक्षरस लागू गरी पालना गर्नु र गराउनुपर्छ । वायु प्रदूषण रोक्न नियम कानुन कडा बनाइनुपर्छ । घरभित्रको मात्र नभई समग्र वातावरण प्रदूषणरहीत हुनुपर्छ ।
वायु प्रदूषणबाट सर्वसाधारण कसरी जोखिने ?
सबैले आफ्नो उत्तरदायित्व सम्झेर वायु प्रदूषण कम गर्न मद्धत पुर्याउनुपर्छ । ‘मैले के गर्न सक्छु’ भन्ने कुराको मनन गर्न जरुरी छ । स्वयं व्यक्तिले घरको प्रदूषण रोक्ने प्रण गर्नुपर्छ । विश्वको तथ्यांक हेर्दा अहिले पनि ५० प्रतिशतले खाना पकाउन र ताप्न दाउरा र गोवरको गुइँठा आदि प्रयोग गरेको पाइन्छ । यसको सट्टा ग्याँस चुलोको प्रयोग गरेमा घरभित्रको प्रदूषण कम गर्न सकिन्छ । फोहोरहरु नबाल्ने, सवारी साधनहरुलाई कन्डिसनमा राखेर चलाउनुपर्छ । प्राकृतिक प्रकोपहरु हाम्रो नियन्त्रणमा छैन । तर लेजिस्लेसन बढाएर कडा नियम पालना गराएर समस्या न्युनिकरण गर्न सकिन्छ ।
यसका साथै पोषणयुक्त खाना खानुपर्छ । शारीरिक अभ्यास गर्नुपर्छ । मास्कको प्रयोग गर्नुपर्छ । दीर्घरोगीहरुले चिकित्सकको निगरानी र सल्लाहमा नियमित औषधिको सेवन गर्नुपर्छ । निमोनिया विरुद्धको खोपहरु लगाउनुपर्छ ।

कोभिड र श्वासप्रश्वास बीच कस्तो सम्बन्ध हुन्छ ?

कोभिले सबैभन्दा धेरै फोक्सोमा असर गर्छ । धेरैजसो बिरामीहरुको विश्व स्वास्थ्य संगठनले दिएको परिभाषा अनुसार नै अक्सिजन चाहिने नचाहिने, निमोनिया भए नभएको अनुसार रोगलाई वर्गिकरण गरेको हुन्छ । हस्पिटलाइज भएर भेन्टिलेटरमा राखिएका अधिकांश सिकिस्त बिरामीहरुलाई फोक्सोमा असर गरेको हुन्छ । कोभिडले फोक्सोमा गरेको असरलाई पनि हामी निमोनिया भन्छौं ।
कोभिडका अधिकांश बिरामीहरुमा फोक्सोमा नै असर गर्छ । तर धेरै कम बिरामीहरु फोक्सोमा असर नभएपनि पक्षघात, हृदयघातको समस्या लिएर आएका हुन्छन् ।
जाडो मौसम र कोरोनाबीच सम्बन्ध हुन्छ ?
जाडो मौसम र कोरोनासँग खासै सम्बन्ध होइन किनभने कोभिड शुरु भएको एक वर्ष भइसक्यो । जाडोबाट शुरु भएको कोभिड गर्मी मौसम पार गर्दै जाडो मौसममा प्रवेश गरिसकेको छ । मौसमले कोभिड तलमाथि भएको हामीले खासै देखेका छै्रनौं । तर जाडो मौसममा कोभिड भाइरस मात्र नभई अरु भाइरसहरु जस्तैः मौसमी रुघाखोकी, इन्फ्लुएन्जाजस्ता कोभिड नगराउने कोरोना भाइरस सर्कुलेट भइरहेका हुन्छन् । जाडो मौसममा यी भाइरसका कारण दमका बिरामीहरुको समस्या बढेको हुन्छ । कोभिड नहुँदा पनि हरेक बर्ष जाडो मौसममा यी भाइरसहरु बढ्ने कारण दमका बिरामीहरु समस्यामा परेका हुन्छन् ।
कसरी प्रभावकारी सेवा दिन सकिन्छ ?
सम्बन्धित विधामा राम्रो अनुभव र ज्ञान भएमा बिरामीले प्रभावकारी सेवा प्राप्त गर्न सक्छन् । उनीहरुलाई सेवा मात्र नभई मायापूर्वक सेवा दिनसक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्