Logo
|
Wednesday 24th April 2024
Logo

epaper

स्वास्थ्य क्षेत्रमा बेरुजुको चाङ



जनस्वास्थ्य सरोकार, काठमाडौं । विकासका पूर्वाधारहरु मध्ये स्वास्थ्य क्षेत्र एक हो । स्वास्थ्य क्षेत्रमा बर्सेनि बेरुजु बढ्दै गएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत बर्सेनि एक अर्ब रुपैयाँ बढी बेरुजु देखिँदै आएको छ । पछिल्लो तथ्यांकअनुसार आर्थिक वर्ष २०७५÷७६ मा एक अर्ब रुपैयाँ बढी बेरुजु देखिएको छ ।


स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरुका अनुसार बेरुजु बढ्नुमा कर्मचारी परीवर्तन् मूख्य कारक तत्व रहेको छ । आर्थिक वर्ष २०७३÷७४ मा २ अर्ब ६४ करोड २२ लाख ६ हजार रुपैयाँ बेरुजु देखिएको थियो । २०७४÷७५ मा १ अर्ब ४९ करोड ४४ लाख १२ हजार रुपैयाँ बेरुजु देखाएको हो ।

स्वास्थ्य मन्त्रालय मातहत सरकारी कार्यालयतर्फ १ सय १३ निकायमा १ अर्ब ४९ करोड ६८ लाख ८३ हजार बेरुजु देखिएको थियो । जसमध्ये १४ निकायले २४ लाख ७१ हजार फछ्र्योट गरेकाले १ अर्ब ४९ करोड ४४ लाख १२ हजार बेरुजु बाँकी छ । सो रकममध्ये ९२ करोड ४५ लाख ३५ हजार पेस्की बाँकी रहेको पाइएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आन्तरिक नियन्त्रण निर्देशिका २०७५ जारी समेत गरेको थियो । निर्देशिकामा विषयगत क्षेत्र, बजेट तथा कार्यक्रम तर्जुमा, लेखापरीक्षण तथा बेरुजु फछ्र्योटका विषय समेटिएका छन् ।


आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यमा स्वास्थ्य शीर्षकमा ५६ अर्ब ४१ करोड ९७ लाख रुपैयाँ विनियोजन भएको थियो । यसअन्तर्गत संघीय सरकारका लागि ३४ अर्ब र बाँकी प्रदेश तथा स्थानीय सरकारका लागि विनियोजन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अपारदर्शी खर्चका कारण प्रदेश र स्थानीय तहले खर्च विवरण संघमा पठाउन आनाकानी गर्दै आएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्