Logo
|
Friday 26th April 2024
Logo

epaper

चिकित्सकको प्रेस्क्रिप्सनबिनै औषधि भिराइँदै, नियमनकारी निकाय तै चुप मै चुप



जनस्वास्थ्य सरोकार, काठमाडौं । चिकित्सकको प्रेस्क्रिप्सन विना धमाधम औषधि विक्री भइरहेको पाइएको छ । नियमतः यस्तो गर्न मिल्दैन । अहिलेपनि औषधि पसलबाट चिकित्सकको सिफारिस बिना मनलाग्दि औषधि विक्री भइरहेको छ । तर, नियमनकारी निकायले अनुगमन र कारबाहि नगर्दा मनपरी बढ्दै गएको छ । कुनै विरामी फार्मेसीमा पुगी टाउको दुखेको भन्दै औषधि मागे मनलाग्दि प्रेस्क्रिप्सनविना औषधि दिने गरिएको छ ।


जनस्वास्थ्य ऐन २०७५ अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले औषधि सीफारीस गर्नुपर्दा जेनेरीक नाम उल्लेख गर्नुपर्ने प्रावधान छ । जनस्वास्थ्य ऐनमा भनिएको छ, ‘औषधि विक्रेताले चिकित्सकको सिफारिस विना कुनैपनि औषधि विक्री वितरण गर्न पाउने छैन ।’
औषधिको प्रकृति हेरी चिकित्सकको प्रेस्क्रिप्सन बमोजिम तथा विना प्रेस्क्रिप्सन बेच्न सकिने औषधिहरुको समुह विभाजन गर्ने जिम्मेवारी औषधि व्यवस्था विभागको हो । तर, औषधि पसलहरुबाट गम्भिर प्रकृतिका विरामीहरुलाई समेत विरामीले भनेको मौखिक आधारमै औषधि दिने गरीएको पाइएको छ ।


चिकित्सकको सिफारिस बिना बिक्री वितरण गर्न नहुने भनि लेखिएका ‘क’ र ‘ख’ बर्गका औषधिलाइ चिकित्सकको सिफारिस अनुसार मात्र बेच्न सबै व्यवसायीहरुलाई विभागले आव्हान गरेको छ । अध्ययन अनुसार नेपालमा ५० प्रतिशत मानिस चिकित्सकको प्रेस्क्रिप्सन बिना नै औषधि खरिद गर्छन् । कतिपय औषधिहरु सेवन गर्न नमिल्ने धेरै अवस्था हुन्छन् ।

गर्भवती मुटु रोग भएको मधुमेह उच्च रक्तचाप भएको अवस्थामा सामान्य ग बर्गकै औषधि खरिद गरेर सेवन गर्दा पनि त्यसले नराम्रो असर गर्न सक्छ । चिकित्सकको सल्लाह बिना औषधि सेवन गर्ने र आफु खुशी औषधि सेवन गर्ने प्रवृत्तिका कारण विश्वमा धेरै मानिसहरुले ज्यान गुमाउने गरेको तथ्यांकले देखाएको छ । औषधि व्यवस्था विभागले पनि सिफारिस बिना जथाभावी औषधि बिक्रीवितरण भएको स्वीकार गर्दै छिटै नियमन हुने प्रतिबद्दता जनाएपनि कार्यान्वयनमा आउन सकेको छैन ।


यस्तै, बिरामीको औषधि किन्न डाक्टरले लेख्ने प्रेस्क्रिप्सनमा अब औषधिलगायत सबै कुरा स्पष्ट बुझिने गरी लेख्नुपर्ने भएको छ । प्रेस्क्रिप्सन नबुझिएका कारण गलत औषधि सेवन गरेर बिरामी समस्यामा परे तीन महिनासम्म डाक्टर निलम्बनमा पर्नेछन् । नेपाल मेडिकल काउन्सिलको इथिकल कमिटीले सार्वजनिक सूचना प्रकाशित गरी यस्तो व्यवस्था गरेको हो । तर, कार्यान्वयन भएको पाइदैंन ।

काउन्सिलका अनुसार स्वास्थ्यकर्मीले प्रेस्क्रिप्सन लेख्दा औषधिको नाम, सेवन गर्नुपर्ने मात्रा–समय तथा अवधिसमेत बुझिने भाषा र अक्षरमा छापेर वा लेखेर दिनुपर्ने हुन्छ । प्रेस्क्रिप्सनमा चिकित्सक वा अधिकारप्राप्त स्वास्थ्यकर्मीले आफ्नो पहिचान खुल्ने गरी नाम, थर एवं सम्बन्धित काउन्सिलमा दर्ता भएको प्रमाणपत्रको नम्बरसमेत उल्लेख गुर्नपर्ने डाक्टर र औषधि पसलेबीचको सेटिङमा केही चिकित्सकले कुनै खासबाहेक अन्य औषधि पसलेले नबुझ्ने गरी प्रेस्क्रिप्सन लेख्ने गरेको चिकित्सक बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्