नेभिगेशन

स्वास्थ्य अनुसन्धानको पहिलो ढोका ‘नेपाल स्वास्थ्य अनुसन्धान परिषद्’

जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा स्वास्थ्य क्षेत्रको औपचारिक, संस्थागत र चरणबद्ध विकासको क्रम वि. स. २०१३ साल देखि भएको देखिन्छ । स्वास्थ्य प्रदायक अस्पतालहरु विश्वस्तरीय प्रविधि मैत्रीतर्फ उन्मुख छन् । देशको आन्तरिक स्वास्थ्य अवस्थाको सहि चित्रण कस्तो छ भन्ने प्रश्नको प्रष्ट जवाफ कसैसँग पनि छैन । यसो हुनु पछाडिको मुख्य कारण नेपालको आन्तरिक स्वास्थ्य अवस्था, प्रणाली र सम्बन्धित विविध विषयमा खासै अध्ययन अनुसन्धान नहुनु र भएका अध्ययन अनुसन्धान पनि नीतिनिर्माण तह सम्म नपुग्नु पनि हो ।

नेपालमा कतिपय अनुसन्धान त हुने गरेका छन् । तर आधिकारिक रुपमा नेपालको नीतिगत संरचनामा दख्खल पुर्याउने अनुसन्धान न्युन हुने गरेका छन् । स्वास्थ्य क्षेत्र आफैमा एउटा सम्वेदनशील क्षेत्र भएकाले हचुवाका भरमा वैज्ञानिक विधि नपुर्याई गरिएका अध्ययन अनुसन्धानको वास्तविक अर्थ हुँदैन । नेपालमा पनि स्वास्थ्यका विविध विषयमा वैज्ञानिक अध्ययन अनुसन्धान हुनु बान्छनीय नै हुन्छ । त्यसैले स्वास्थ्य क्षेत्रमा देखा परेका विभिन्न समस्यालाई वैज्ञानिक रुपमा अध्ययन तथा अनुसन्धान गरी सर्वसाधारण जनताको स्वास्थ्य सुविधा कायम राख्न वि.सं. २०४७ सालमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदको स्थापना भएको देखिन्छ ।


मुख्य रुपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को दफा ५ मा परिषद्का उद्देश्यहरु उल्लेख गरिएको छ । जसअनुसार परिषद्ले स्वास्थ्य क्षेत्रमा देखा परेका तथा भविष्यमा पर्न सक्ने विभिन्न समस्याहरुको सम्बन्धमा अध्ययन तथा अनुसन्धान गर्ने गराउने, स्वास्थ्य सम्बन्धि अध्ययन तथा अनुसन्धान कार्यक्रमलाई बढी उपयोगी बनाउन परामर्श सेवा तथा सुचना सम्बन्धि कार्यक्रमहरु गर्ने र विश्वमा देखा परेका स्वास्थ्य सम्बन्धि विभिन्न समस्या उपर गरिएको अध्ययन तथा अनुसन्धान वा कृति बारे जानकारी प्राप्त गरी समय समयमा नेपाल सरकारलाई जानकारी गराउने कुरा उल्लेख गरिएको छ ।


त्यसैगरी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई नियम गर्न बनेको ऐन नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन २०४७ को दफा ११ ले स्पष्टरुपमा यो ऐन प्रारम्भ भएपछि स्वास्थ्य क्षेत्रमा अनुसन्धान गर्न चाहने व्यक्ति वा संस्थाले परिषद्को स्वीकृति लिनुपर्ने प्रावधान उल्लेख गरेको छ । त्यसैगरी ऐनकै दफा १२ बमोजिम परिषद्को विशेष अधिकार अन्तर्गत कुनै व्यक्ति वा संस्थाले दफा ११ बमोजिम स्वीकृति नलिई अनुसन्धान कार्य गरेमा वा स्वीकृति लिई अनुसन्धान कार्य गर्दा तोकिए बमोजिमका शर्त वा परिषद्को निर्देशन पालना नगरेमा त्यस्ता व्यक्ति वा संस्थालाई परिषद्ले सचेत गराउन वा निश्चित अवधि तोकी त्यस्तो अनुसन्धानको काम गर्न नपाउने गरी रोक लगाउन सक्नेछ भन्ने प्रावधान उल्लेख गरिएको छ ।

व्यवहारिकरुपमा पनि परिषद् वा कुनै पनि संस्थासँग अनुमति नलिई गरेका अध्ययन अनुसन्धानका अध्ययन र अनुसन्धानकर्ताहरुलाई नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सचेत गराउने, रोक लगाउने लगायतको नियामक कार्य गरिरहेको छ । उल्लेखित प्रावधानबाट यति कुरा प्रष्ट हुन्छ कि बैज्ञानिक आचार संहिता पालना नगरी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अनुमति बेगर कसैले पनि नेपालमा स्वास्थ्य अनुसन्धान गर्न पाउँदैन । त्यसरी बैज्ञानिक आचार संहिता पालना नगरी गरिएका अध्ययनको आधिकारिकता पनि छैन । नेपालको क्षेत्राधिकार भित्र रहेपछि नेपालको कानुन सबैलाइ मान्य हुन्छ । यसर्थ नेपालमा स्वास्थ्यका विविध विषयको अध्ययन अनुसन्धान गर्ने, गराउने तथा नियमन गर्ने एउटै आधिकारिक ढोका भनेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद् नै हो ।


साथै विगतका गल्तीहरुलाई पाठको रुपमा स्वीकार्दै अबका नयाँ पुस्ताले अध्ययन अनुसन्धान गर्न सही र वैज्ञानिक बाटो रोज्नुपर्ने देखिन्छ । हुन त नेपालमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् अन्तर्गत रहेको इथिकल रिभ्यू बोर्ड (ERB) सहित ५२ वटा Institutional Review Committee (IRC) हरु छन् । बाँकी ५२ वटा IRC बाट पनि अनुसन्धानको अनुमति लिन सकिन्छ तर त्यस्तो अनुमति सम्बन्धित संस्थासंग आबद्द भएका व्यक्तिहरुले मात्र पाउँछन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् अनुसन्धान गर्न इच्छुक र विषयगत क्षमता भएका व्यक्ति जो कसैले पनि अध्ययन अनुसन्धानको स्वीकृतिको लागि निवेदन दिन सक्ने व्यवस्था छ ।


स्वास्थ्य सम्बन्धित अध्ययन, अनुसन्धानहरु निकै सम्बेदनशील हुनेगर्छन् । अनुसन्धाताहरूले आफ्नो अध्ययन वा अनुसन्धानले मानव संस्कार संस्कृति माथि कुनै असर पुर्याउँछ कि पुर्याउँदैन, समाजमा कुनै नकारात्मक प्रभाव पर्छ कि पर्दैन भन्ने कुरामा पनि उत्तिकै विचार गर्नुपर्ने हुन्छ । नयाँ नयाँ खोज, अनुसन्धान वा नयाँ ट्रायल गर्दा मानव स्वास्थ्यमा नकारात्मक असर पर्न पनि सक्छ । त्यसैले सुरु गर्न लागेको अनुसन्धान कत्तिको मानव स्वास्थ्यमा असर पुर्याउने खालको छ त भन्ने कुरा निष्पक्ष रुपले हेर्न संसारभर विभिन्न इथिक्स कमिटीहरुको स्थापना भएको छ ।

अनुसन्धानलाई कसरी सभ्य र व्यबस्थित बनाउने, कसरी मानव क्षति कम गराउने भन्ने लगायतका यावत विषयलाई अनुसन्धानकर्ताले केन्द्रमा राख्नुपर्ने हुन्छ जसलाई सम्बन्धित इथिकल रिभ्यू कमिटीले निष्पक्ष तरिकाले हेरेर अध्ययन गर्न स्वीकृत गर्ने नगर्ने निष्कर्ष निकाल्छ ।


नेपालको सन्दर्भमा अध्ययन अनुसन्धानको औचित्य, क्षति र आवश्यकताको निष्पक्ष निक्र्योल गर्ने निकाय भनेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को इथिकल रिभ्यू बोर्ड हो । परिषद्ले सन् २०१९ माForum for Ethical Review Committee in the Asia and the Western Pacific Region (FERCAP), नामक अन्तराष्ट्रिय संस्थाबाट मान्यता पनि प्राप्त गरेको छ जसले नेपालको इथिकल रिभ्यू कमिटिको गरिमालाई अझ उचाइमा पुर्याएको छ । हरेक अनुसन्धानकर्ताहरुको उद्देश्य सम्बन्धित निकाय समक्ष आफ्नो अनुसन्धानको निष्कर्ष पुगोस् भन्ने नै हो । आगामी दिनमा नीति तथा कार्यक्रममा आफ्नो अध्ययनले सकारात्मक प्रभाव परोस् भन्ने नै हुन्छ ।

नेपालको सन्दर्भमा यदि कोहि व्यक्तिले आफूले अध्ययन अनुसन्धान गरेको विषय र निचोड नीति बनाउने निकाय सम्म पुर्याउन चाहन्छ भने त्यसको एउटै र सहज बाटो नेपाल स्वास्थ्य अनुसन्धान परिषद् नै हो । किनकि परिषद्ले अध्ययन अनुसन्धान गरे गराएपछि तिनको निचोड निष्कर्ष सम्बन्धित नीति बनाउने विज्ञ समक्ष पुर्याउने जमर्को पनि गर्ने गर्छ । अनुसन्धानका रिपोर्टहरु नीति निर्माताको उपस्थितिमा प्रवोधिकरण गर्ने, तथ्य सार्वजनिक गर्ने तथा नीति निर्मातासँग सम्बन्धित निष्कर्षका बारे छलफल गर्ने, गराउने काम पनि परिषद्ले गर्ने गरेको छ ।

तर परिषद्सँग वा सम्बन्धित आईआरसीसँग अनुमति नलिई नीजी रुपमा गरिएका अध्ययनहरुले न त आधिकारिकता नै पाउँछन न त नीति निर्माण तहमा आफ्नो दख्खल देखाउन नै पाउँछन ।
त्यसैले हरेक दृष्टिकोणबाट नेपालमा स्वास्थ्य सम्बन्धि कुनै पनि अध्ययन अनुसन्धान गर्न सहकार्य गर्नैपर्ने निकाय भनेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद् नै हो ।

अध्ययन अनुसन्धानको निमित्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग स्वीकृति लिन के गर्ने ?
नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा अध्ययन अनुसन्धानको स्वीकृतिका लागि परेका सम्पूर्ण निवेदनहरु परिषदभित्र गठन भएको इथिकल रिभ्यू बोर्डबाट पास हुनु अनिवार्य हुन्छ । जसको लागि परिषद्को वेबसाइटमा गएर अनलाइन आवेदन भर्न सकिन्छ ।

इथिकल रिभ्यू बोर्डले निवेदनमा परेका त्यस्ता अध्ययन अनुसन्धानहरु नेपालमा गर्नु कत्तिको उचित हुने नहुने, फाइदा बेफाइदाको लेखाजोखा तथा तर्कसंगत विष्लेषण गरी अनुसन्धान गर्न स्वीकृति दिने वा नदिने कुरा निर्णय गर्छ । त्यसको लागि नेपालको स्वास्थ्य क्षेत्र सँग सम्बन्धित कुनै पनि विषयमा अध्ययन गर्न चाहने व्यक्तिले सर्बप्रथम इथिकल मान्यताका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को वेबसाइटमा गइ अनलाइन प्रस्तावना बुझाउनुपर्ने हुन्छ ।

अध्ययन अनुसन्धानको प्रक्रिया शुल्क अनुसन्धानको प्रकार र बजेटमा निर्भर गर्छ । जुन सिधै परिषदमा आएर वा परिषद्को बैंक खातामा डिपोजिट गरी बुझाउन सकिनेछ । इथिकल मान्यता हुन कम्तिमा २ देखि ८ हप्ता लाग्छ र अनुसन्धानको विषय जटिल भएमा अझ बढी समय पनि लाग्न सक्छ । यस विषयसँगको थप जानकारी परिषद्को वेबसाइटमा www.nhrc.gov.np पनि उल्लेख गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य लेख