Logo
|
Thursday 25th April 2024
Logo

epaper

क्यान्सर : चुनौति चुलिँदै



जनस्वास्थ्य सरोकार, काठमाडौं । परिवारका ८ जना सदस्यलाई क्यान्सर भयो । कतिपयको क्यान्सर रोगबाटै ज्यान गयो । क्यान्सरले पारिवारिक विछोड बनाए पनि बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्रप्रसाद बराल सक्रिय हुनुहुन्छ । क्यान्सर विरुद्धको जनचेतनामा जुट्नुहुन्छ । क्यान्सर भएकालाई उपचार गर्न दिनरात खटिनुहुन्छ । फेब्रुअरि ४ अर्थात विश्व क्यान्सर दिवस आउनु एक साता अघि नै उहाँलाई धेरै ठाउँबाट निमन्त्रणा आउँछ । फुर्सद मिलाउन धौ –धौ पर्छ । डा. बरालले भन्नुहुन्छ—‘मिडिया र सार्वजनिक समारोहमा भ्याई नभ्याई हुन्छ । कतिपय ठाउँमा जान नपाउँदा सरि…. भन्ने गर्छु ।’

बिरामी बढ्दै
नेपाल अर्बुद्ध रोग निवारण संस्थाका अनुसार, नेपालमा हरेक वर्ष करिब २० हजार ५०८ नयाँ बिरामी थपिएको देखिन्छ । करिव १३ हजार ६ सय २९ जनाको मृत्यु भएको तथ्याङ्कले देखाएको छ । नेपालमा करिब ५० देखि ६० हजार क्यान्सर रोगीहरु रहेको अनुमान गरिएको छ । विगतको ५ वर्ष भित्र करिब ४३ हजार क्यान्सर बिरामीहरु पूर्ण रुपमा निको भएको तथ्याङ्कले देखाएको छ ।


नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) का सदस्य सचिव एवं कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीका अनुसार, पुरुषलाई फोक्सो र महिलालाई पाठेघरको क्यान्सर बढी देखिएको छ । मुलुकमा पहिलो पटक जनसंख्यामा आधारित रहेर नौ वटा जिल्लाको तथ्यांक संकलन गर्दा पुरुषमा फोक्सोको क्यान्सर देखियो । शहरी क्षेत्रका महिलामा स्तनको क्यान्सर पहिलो देखिएको डा. ज्ञवालीले जानकारी दिनुभयो ।

ग्रामीण भेगका महिलामा पाठेघरको मुखको क्यान्सर देखापरेको छ । काठमाडौं उपत्यकामा एकलाख पुरुषमा ९५ दशमलव ३ प्रतिशत र महिलामा ९८ दशमलव १ प्रतिशत क्यान्सरको बिरामीको दर पाइएको छ ।


नेपाल क्यान्सर सर्जन समाजका अध्यक्ष डा. प्रकाशराज न्यौपानेका अनुसार, कतिपयलाई क्यान्सर भएको थाहै छैन । क्यान्सर भएपनि उपचार नपाएका छन् । क्यान्सरको उपचार गर्न पर्खिरहेका बिरामीको संख्या पनि उल्लेख्य छ । उहाँ भन्नुहुन्छ—‘क्यान्सर लागेको शंका भएका र क्यान्सरको पुष्टि भइसकेका बिरामीलाई कोभिड भएको छ भने पनि घरमा नबस्नुस् । कुनै क्यान्सर छिटो र कुनै ढिलो बढ्ने गर्छ । उपचारमा ढिलाई नगरौं ।


महिलाहरुलाई स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर बढी देखिएको छ । बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. आरती शाह बेलैमा सजग भए यी दुवै क्यान्सरबाट जोगिन सकिने बताउनुहुन्छ । एचपीभी भ्याक्सिन लगाएको अवस्थामा पाठेघरको मुखको क्यान्सरबाट जोगिन सकिन्छ । अस्ट्रेलियन सर्भाइकल क्यान्सर फाउण्डेशन र नेपाल नेटवर्क फर क्यान्सर ट्रिटमेन्ट एण्ड रिसर्च (एनएनसीटीआर) बनेपाको तत्वावधानमा पहिलो पटक नेपालमा सन् २००८ मा पहिलो लगाइएको थियो । १० वर्षदेखि २६ वर्ष उमेर समूहका किशोरीहरुमा तीन डोज खोप लगाइएको डा. शाह बताउनुहुन्छ । त्यो बेला १ हजार १९ जना किशोरीलाई खोप लगाइएको थियो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २०१४ देखि विकाशशील मुलुकमा दुई डोज खोप लगाउन सकेमा पनि प्रभावकारी हुने उल्लेख गरेको छ ।

डा. शाह भन्नुहुन्छ—‘बालिकाहरुलाई बेलैमा एचपीभी खोप उपलब्ध गराउन सके भविष्यमा पाठेघरको मुखकोे क्यान्सरको जोखिम हुँदैन । नियमित राष्ट्रिय खोप अभियान अन्तर्गत एचपीभी खोपलाई पनि समावेश गर्नु जरुरी छ । ’


भक्तपुर क्यान्सर अस्पतालको बहिरङ्ग विभागमा कार्यरत डा. एलिजा श्रेष्ठ निकै ढीलो भइसकेपछि बिरामी उपचार गर्न आउने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ—‘कतिपय बिरामीलाई त क्यान्सर भएको थाहा नै छैन । दोस्रो र तेस्रो अवस्थामा पुगिसकेपछि बल्ल उपचार गर्न आउँछन् । बिरामीको अवस्थाले मन छुन्छ ।’

सचेतना फैलाउँ
राष्ट्रपति विद्यादेवी भण्डारी पनि क्याक्सर विजेता हुनुहुन्छ । क्यान्सर विरुद्ध जनचेतनाको लागि राष्ट्रपति भण्डारी ‘रोल मोडल’ हुनसक्ने डा. बराल बताउनुहुन्छ । क्यान्सर विरुद्ध जुधिरहेका डाक्टर, नर्स, वकिल, सञ्चारकर्मीहरु पनि सार्वजनिक हुन हिचकिचाइरहेको उपचारमा संलग्न चिकित्सकहरुको भनाइ छ । क्यान्सर विजेताहरुले आफ्नो अनुभव सुनाउनु बढी प्रभावकारी हुन्छ । डाक्टरले भनेको भन्दा क्यान्सर विजेताले भनेको कुरालाई बिरामीले बढी महत्वका साथ लिन्छन् । क्यान्सर विजेता भएको खुलेआमा भन्न किन हिचकिचाइरहेका छन् । ‘मलाई अचम्म लागिरहेको छ । समाजमा शीर ठाडो पारेर म क्यान्सर विजेता हुँ भन्न किन सकिरहेका छैनौं ?’ डा. बरालले प्रश्न गर्नुभयो ।


वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठ क्यान्सर विरुद्ध सरकारले भन्दा सामाजिक संघ संस्था र निजी क्षेत्रबाट क्यान्सर विरुद्ध जनचेतना फैलाउनुपर्ने कार्य भइरहेको बताउनुहुन्छ ।

पछिल्लो समय क्यान्सर विजेताहरु संगठित भएर क्यान्सर विरुद्ध जुध्न अपिल गर्न थालेका छन् । धुम्बाराहीस्थित ह्याम्स हस्पिटल, ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर, जावलाखेलस्थित नेशनल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर लगायतका स्वास्थ्य संस्थामा आबद्ध भएर क्यान्सर विजेताहरु संगठित भएका छन् ।


स्तन क्यान्सरको बेलैमा पहिचान गरी उपचार गर्दा निको भएको उल्लेख गर्दै स्तन क्यान्सर विजेता प्रनिता खनाल क्यान्सर विजेताहरु संगठित हुनुपर्ने बताउनु हुन्छ । ९ वर्षअघि आफूलाई स्तन क्यान्सर भएको र बेलैमा पहिचान र उपचार गरेकाले अहिले पनि सक्रिय जीवन जीउन सफल भएको उहाँको अनुभव छ । नेपाल क्यान्सर सर्भाइभर सोसाइटीकी अध्यक्ष समेत रहेकी खनालले क्यान्सर विरुद्ध विरामीलाई परिवारको साथ र सहयोग आवश्यक पर्ने बताउनुहुन्छ ।
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष समेत रहनुभएका डा. श्रेष्ठ भन्नुहुन्छ—‘क्यान्सर विरुद्ध जनचेतना एवं उपचार लगायतका दक्ष जनशक्ति उत्पादनमा नीजि क्षेत्रसँग सरकारले सहकार्य गर्नुपर्ने खाँचो छ ।’
डाक्टरलाई नै क्यान्सर !
धेरैलाई अचम्म लाग्नसक्छ । डाक्टरलाई नै क्यान्सर हुन्छ र ? हो । जुनसुकै लिङ्ग,उमेर वा पेशाकर्मीलाई पनि क्यान्सर हुनसक्छ । विश्वमा मात्र होइन नेपालमा चिकित्सकलाई नै क्यान्सर भएको छ ।


मुलुकका पहिलो शल्य चिकित्सक प्रा.डा. अञ्जनीकुमार शर्माको क्यान्सरबाटै ज्यान गएको छ । उहाँलाई प्रोष्टेट क्यान्सर भएको थियो । उहाँको ८६ बर्षमा लोअर यूरेटर क्यान्सरबाट आफ्नै निवास मित्रपार्क चावहिलमा निधन भएको थियो ।


डा. शर्माले वीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा सल्यचिकित्सा विभाग स्थापना गरी सल्यक्रियाबाट औषधोपचार सेवा आरम्भ गर्नुभएको थियो । क्यान्सरविरुद्ध जनचेतना जगाउने नेपाल अर्बुद्ध रोग निवारण संस्थाका संस्थापक उपाध्यक्ष शर्माले भक्तपुर क्यान्सर अस्पतालको स्थापना र सञ्चालनमा पनि महत्वपूर्ण योगदान गर्नुभएको थियो । धूमपान र सुर्तीजन्य पदार्थमा स्वास्थ्य कर लगाउने व्यवस्थाका लागि पनि डा.शर्माले पहल गर्नुभएको थियो । नेपालमा क्यान्सर उपचारका लागि प्रयोग हुने रेडियसन उपचार विधि भित्र्याउने कार्यमा पनि संलग्न रहनु भएको थियो ।


‘एक लाखमा एक’ लाई लाग्ने एपेन्डिक्सको क्यान्सर (एडेनो कार्सिनोमा अफ एपेन्डिक्स) बाट प्रभावित डा. चित्रप्रसाद वाग्लेको उपचारका क्रममा ग्राण्डि इन्टरनेशनल अस्पतालमा निधन भएको थियो । गाउँघरमा झण्डै दुई दशक सेवा पु¥याउनु भएका डा. वाग्लेले सरकारबाट समेत ‘देशभरकै सर्वोकृत्ष्ट चिकित्सक’को सम्मान पाउनु भएको थियो ।
सार्क फेडेरेशन अफ अंकोलोजिष्ट, नेपालका अध्यक्ष डा. राजेन्द्रप्रसाद बरालका अनुसार, क्यान्सर जनुसुकै लिङ्ग, उमेर र पेशाकर्मी जो सुकैलाई हुनसक्छ । समयमै पहिचान गरी उपचार शुरु गर्ने हो भने निको हुन्छ । क्यान्सरसँग जुध्न दृढ आत्मविश्वास चाहिन्छ ।’— डा. बरालले भन्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्