Logo
|
Thursday 28th March 2024
Logo

epaper

आज विश्व हिमोफिलिया दिवस २०२१ : परिवर्तको लागि अनुकुलन, नयाँ संसारमा धान्ने हेरचाह’

हिमलिब्राको सेवा उचित रुपमा व्यवस्थापन गरी दुरदराज सम्म पुर्याउनुपर्ने जिम्मेवारी



मुकुन्द मणि घिमिरे,उपाध्यक्ष,हिमोफिलिया सोसाइटी नेपाल
आज अर्थात् अप्रिल १७ तारेख विश्वभर रहेका हिमोफिलियायुक्त व्यक्तिहरुको महान चाड विश्व हिमोफिलिया दिवस । प्रत्येक बर्ष हर्सोल्लासका साथ विश्वभरि नै विभिन्न कार्यक्रमका साथ मनाइने यस दिवस गत वर्ष र यस बर्ष पनि दुःखद बन्न पुगेको छ । ‘परिवर्तको लागि अनुकुलन ः नयाँ संसारमा धान्ने हेरचाह’ (Adapting to change: sustaining care in a new world) भन्ने मुल नाराको रुपमा रहेको छ यस बर्षको विश्व हिमोफिलिया दिवस ।

विश्वभरि नै महामारीको रुपमा रहेको कोभिड १९ ले प्रभावित पारेको छ । हुनतः कोरोनाको यो महामारी विश्वभर नै सबैलाई भयाभवहको रुपमा रहेको छ, त्यसमाथि झन हिमोफिलियायुक्त व्यक्तिहरुका लागि अझै थप कठिन बनाएको छ ।

आफ्ना समस्याहरु सम्बन्धित् निकायहरु सम्म पुर्याउन, हिमोफिलियाको बारेमा विश्वभर भइरहेका घटना, विकासक्रम, उपचार प्रविधि लगायत एक आपसमा खुशी साटासाट गरी एकदिन भए पनि पीडा भुली हर्षोल्लास गरी मनाइने दिवसलाई गतबर्ष र यसबर्ष पनि कोभिड १९ का कारण नराम्रोसँग धक्का दिएको छ । विश्वभर रहेका हिमोफिलियायुक्त व्यक्तिहरु एवं संस्थाहरुको अभिभावकत्व निर्वाह गर्ने विश्व हिमोफिलिया महासंघले प्रत्येक देशका हिमोफिलियायुक्त व्यक्तिहरुको जीवन रक्षार्थ भुमिका निर्वाह गरिरहेको छ । साथै, सम्बन्धित देशका सम्बधित निकायहरुलाई पनि हिमोफिलियायुक्त व्यक्तिहरुको लागि अभिभावकत्व लिई दिन पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गरिरहेको छ ।

यसै दिवसको अवसर पारी बिभिन्न कार्यक्रमहरु गरी सम्बन्धित निकायलाई आफ्ना समस्या तथा सुझावहरु पुर्याउनको लागि पनि यो दिन बिशेष रहेको छ । विगतका बर्षहरुको तुलनामा यस बर्ष नेपालमा रहेका हिमोफिलियायुक्त व्यक्तिहरुको लागि सम्बन्धित निकाय (विश्व हिमोफिलिया महासंघ तथा नेपाल सरकार) बाट थप खुशी थपिएको छ ।


विश्व हिमोफिलिया महासंघबाट केही बर्ष अघिदेखि चर्चामा रहेको हिमलिब्रा औषधि यस बर्ष नेपाल भित्रिई आंशिक रुपमा हिमोफिलियायुक्त व्यक्तिहरुले सेवा लिई रहेका छन । बिभिन्न समयहरुमा गरिएका वकालत, पैरवी लगायतका कार्यक्रमहरुको प्रभावका कारण हिमोफिलियाको बिषयमा नेपाल सरकारको ध्यानाकर्षण भई बिभिन्न प्रदेश सरकारले औषधि खरीद प्रक्रिया सुचारु गरेको छ, साथै ७ वटै प्रदेश अस्पतालहरुमा हिमोफिलियायुक्त व्यक्तिहरुको उपचारको लागि उपचार केयर सेन्टर तथा डाइग्नोसिसमा सहजताको लागि प्रदेश अस्पतालहरुमा डाइग्नोसिस सेन्टर स्थापनाको लागि दाताहरुको सहयोग मार्फत उपकरणहरु उपलब्ध गराउने बिषयमा सम्झौता भई कार्य अगाडी बढिसकेको छ ।


यी सबै सफलताहरुको लागि विश्व हिमोफिलिया महासंघ, नेपाल सरकार, बिभिन्न दाताहरु, चिकित्सकहरु, पारामेडिकहरु, बिभिन्न अस्पताहरु, राष्ट्रिय अपांग महासंघ, बिभिन्न अपांग संस्थाहरु, संचार माध्यम, संचारकर्मीहरु, बिभिन्न सरोकारवाला निकायहरु, हिमोफिलिया सोसाइटी एवं परिवारहरु सबै बिशेष धन्यवादका पात्रहरुलाई हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं ।

नेपाल सरकारले खरीद गरिदिएको औषधि, विश्व हिमोफिलिया महासंघले दिएका औषधिहरु लगायत बहुप्रतिक्षित एवं हिमोफिलिया सोसाइटी नेपालको ड्रिम प्रोजेक्ट रुपमा रहेको अति नै प्रभावकारी औषधि हिमलिब्राको सेवा उचित रुपमा व्यवस्थापन गरी दुरदराज सम्म पुर्याउनु पर्नेछ ।


उक्त औषधिहरुको सहि एवं समस्यागत रुपमा पहिचान गराई प्राथमिकताको आधारमा सेवा दिन सकिएमा दुरदराजमा रहेका एवं शारीरिक समस्या अति नै भएकाहरुको लागि संजिवनी बुटी सावित हुन सक्छ ।

यसको लागि आवश्यक पुर्वाधारहरु एवं सम्बन्धित चिकित्सकहरुलाई तालिमको व्यवस्थाको लागि बिशेष पहल गर्नुपर्नेछ । संघिय सरकार, प्रदेश सरकार, स्थानिय सरकार, विश्व हिमोफिलिया महासंघ, बिभिन्न दाताहरु,सरोकारवाला निकायहरु, बिभिन्न अस्पताल, चिकित्सक, संचार माध्यम, संचारकर्मी लगायत सम्बन्धित निकायहरुसंग निरन्तर सम्पर्क एवं समन्वय गरी हिमोफिलियायुक्त व्यक्तिहरुको सहज जीवन यापन, उपचार व्यवस्थापन, पुर्नस्थापना, नयां हिमोफिलियायुक्त व्यक्तिहरुको खोजी कार्य लगायत हिमोफिलियायुक्त व्यक्तिहरुको जीवन सुरक्षित गर्ने कार्यमा बिशेष गरी थप पहलकदमी गर्नुपर्ने चुनौती रहेको छ ।


औषधि उपचारको अभावमा, उपचार गर्दागर्दै या निदान हुन नसकी अकालमा मृत्युवरण गर्नहुने सम्पुर्ण ज्ञात अज्ञात हिमोफिलियायुक्त व्यक्तिहरुमा हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु ।

साथै, विश्व अझै कोरोनाको चरम उत्कर्षमा रहि रहेको हुँदा आफु र आफ्ना परिवारलाई पनि सुरक्षित राख्नहुन बिशेष अनुरोध गर्दै, भौतिक रुपमा यस बर्ष पनि विश्व हिमोफिलियाको अवसरमा भेटघाट हुन नपाए पनि संचार माध्यमको प्रयोगबाटै सबैजनालाई शुभकामना दिन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्